सिमकोटमा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

फिल्को मिसन

कात्तिक२०८३ , १५, आइतबार,
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सिमकोट गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन नसकेपछि सिमकोट गाउँपालिकाले गत वर्षदेखि आफ्नै पहलमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत ट्र्याक, फिल्ड र भलिबलसहित विभिन्न १३ विधाका खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ले पानसमा दीप प्रज्वलन गरी तथा प्रतियोगिताको ब्यानर अनावरण गरेर औपचारिक उद्घाटन गर्नुभएको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयको सहभागिता रहेको आयोजक सैपाल हिमाल माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले जानकारी दिनुभयो। उहाँका अनुसार रामदेव माध्यमिक विद्यालय, रलिङ माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, मानसरोवर माध्यमिक विद्यालय, कर्णाली माध्यमिक विद्यालय, कैलाश माध्यमिक विद्यालय र सैपाल हिमाल माध्यमिक विद्यालयका छात्रछात्राहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
भलिबलतर्फ छात्र र छात्रा दुवै विधामा सातवटै विद्यालयबाट एक–एक टोलीको अनिवार्य सहभागिता रहने व्यवस्था गरिएको छ। प्रतियोगितामा विजेता तथा उपविजेता टोली र खेलाडीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला रोकाया, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाही, नेकपा एमालेका जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, वडाध्यक्षहरू कमल बुढा र नन्द रावत, गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ तथा गाउँपालिका अध्यक्ष विजय भण्डारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उद्घाटन समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस