हुम्लामा कम्युनिष्ट आन्दोलनको समीक्षा, वाम एकताको प्रस्ताव

फिल्को मिसन

वाम एकतामा जोड, कार्यगत एकताबाट पार्टी एकताको वातावरण बनाउनुपर्नेमा नेताहरूको जोड

असोज १६, २०८३,

हुम्ला । हुम्लाका विभिन्न कम्युनिष्ट पार्टीका नेताहरूले तत्काल कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन आपसी विभाजन र अन्तरविरोध अन्त्य गरी साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

नेपाली कम्युनिष्ट पार्टी हुम्ला जिल्ला समितिको आयोजनामा भएको ‘हुम्लाको कम्युनिष्ट आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरूले वामपन्थी शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले विगतमा विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टीहरूले समाजवादी कार्यदिशा अवलम्बन गर्ने हो भने तत्काल कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकताको वातावरण बनाउन पहल गर्नुपर्ने बताउनुभयो।

उहाँले शिक्षा, स्वास्थ्य र उत्पादनका क्षेत्रमा समाजवादी मोडल लागू गर्ने विषयमा अध्ययन, अनुसन्धान र तयारी आवश्यक रहेको उल्लेख गर्नुभयो। समाजवादको आधार निर्माणका लागि नाराभन्दा व्यवहारिक कार्यक्रम र जनतासँग प्रत्यक्ष जोडिने अभियान आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हस्तबहादुर शाहीले राजनीतिक परिवर्तन र जनताको पक्षमा प्रभावकारी काम गर्न हुम्लाका वामपन्थी शक्तिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

पूर्वसांसद छक्कबहादुर लामाले आफू दुई पटक निर्वाचित भए पनि राज्य प्रणालीको प्रवृत्तिका कारण अपेक्षित काम गर्न नसकेको अनुभव सुनाउँदै कम्युनिष्ट नेताहरूले समाजको गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो। उहाँले वैज्ञानिक दृष्टिकोण र व्यवहारसहितको पार्टी निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला समिति सभापति वीरजङ्ग शाहीले धेरै पहिले सुरु गर्नुपर्ने काम जिल्ला पार्टीले अहिले थालनी गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले कम्युनिष्ट शक्तिबीचको संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज रंगमल रोकायाले निर्वाचित जनप्रतिनिधिले राजनीतिक, आर्थिक तथा वर्गसंघर्षका क्षेत्रमा कस्तो योगदान गरे भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभयो।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रेमा लामाले कम्युनिष्ट नेताहरूको कार्यशैलीका कारण युवामा निराशा बढ्दै गएको बताउँदै त्यसको समाधानका लागि राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।

नेकपा एमाले हुम्लाका जिल्ला अध्यक्ष ज्ञामी बुमीले हुम्लाका कम्युनिष्टहरू ‘सात करङ भाँचिएको घाइते’ अवस्थामा रहेको टिप्पणी गर्दै त्यसको उपचार कार्यगत मोर्चामार्फत गर्दै अन्ततः पार्टी एकतामा पुग्नुपर्ने बताउनुभयो।

नेकपा मालेका केन्द्रीय सदस्य गोरासिंह बोहोराले अहिलेको राजनीति विचार र सिद्धान्तमा आधारित हुन नसकेको भन्दै जागिर, उपभोक्ता समिति र पैसाको प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण बोहोराले सबै कम्युनिष्ट पार्टीले विगतका कमजोरीको आत्मालोचना गर्दै श्रम र संघर्षमा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

नेकपा एमाले हुम्लाका जिल्ला उपाध्यक्ष प्रकाश शाहीले हुम्ली जनताले कम्युनिष्ट पार्टीलाई साथ दिँदै आएको भए पनि स्थापित नेताहरूबीचको विभाजन र अन्तरघातका कारण अपेक्षित राजनीतिक परिणाम हासिल हुन नसकेको बताउनुभयो।

नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सह–संयोजक धर्मराज बोहोराले कम्युनिष्टको भनाइ वामपन्थी भए पनि व्यवहार दक्षिणपन्थी हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सिमकोट इञ्चार्ज जसबहादुर भण्डारीले कम्युनिष्ट शक्तिहरू एक भएर मात्रै आगामी राजनीतिक तथा सामाजिक चुनौतीको सामना गर्न सकिने बताउनुभयो।

अन्तरक्रियामा सहभागी नेताहरूले सम्भव भए केन्द्रमै कम्युनिष्ट पार्टीहरूबीच एकता हुनुपर्ने र केन्द्रमा तत्काल एकता सम्भव नभए पनि हुम्लाका सबै कम्युनिष्ट पार्टीहरू साझा मुद्दामा एक भएर जनतालाई सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्।

उनीहरूले हुम्लामा सुरु भएको यस्तो संवाद र छलफललाई पालिका तथा वडा तहसम्म विस्तार गर्नुपर्ने तथा प्रदेश र केन्द्र तहसम्म पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। सहभागीहरूले आपसी संवाद, सहकार्य र कार्यगत एकताबाटै भविष्यमा व्यापक वाम एकताको आधार तयार गर्न सकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस