गोल्डकपको उपाधिका लागि सिम ब्वाइज र ठेहे भिड्दै

अर्जुन बोहरा

सेमिफाइनलमा सिम ब्वाइजको ३–० र ठेहेको ४–२ गोलको शानदार जित, शनिबार फाईलन उपाधिमा   भिडन्त

कार्तिक २८,२०८३ शनिबार
हुम्ला । हुम्लामा जारी प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सिम ब्वाइज क्लब र ठेहे फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा सिम ब्वाइज र ठेहेले शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा सिम ब्वाइज क्लबले नाम्खा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। खेलभर आफ्नो प्रभाव कायम राखेको सिम ब्वाइजले नाम्खालाई गोल गर्ने अवसरबाट वञ्चित गर्दै प्रभावशाली जित निकालेको थियो।


त्यस्तै, दोस्रो सेमिफाइनलमा ठेहे फुटबल क्लबले भटभटे फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा चार गोल गर्दै ठेहेले आफ्नो जित सुनिश्चित गरेको थियो।
अब प्रतियोगिताको उपाधिका लागि शनिबार दिउँसो १ बजे सिम ब्वाइज क्लब र ठेहे फुटबल क्लब आमनेसामने हुनेछन्। दिगो विकास युवा क्लबका अध्यक्ष विशाल सिंहका अनुसार दुवै टोलीले सेमिफाइनलमा शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेकाले उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


जिल्लाभरका १६ वटा क्लब सहभागी प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिएको थियो। प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना दिगो विकास युवा क्लब र रानीबन युवा क्लबले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस