महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्तीमा प्रचण्डको शुभकामना, समाज सुधारका योगदानको स्मरण

फिल्को मिसन

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रचण्डले महागुरु फाल्गुनन्दलाई सत्य, अहिंसा, शान्ति र सामाजिक सद्भावका प्रवर्द्धकका रूपमा स्मरण गरेका छन्।

उनले समाज सुधार, कुरीति तथा कुसंस्कारको अन्त्य र भाषा, संस्कृति एवं पहिचानको संरक्षणमा महागुरु फाल्गुनन्दले पुर्‍याउनुभएको योगदान सदैव प्रेरणादायी रहने उल्लेख गरेका छन्।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै सामाजिक एकता, सद्भाव तथा समुन्नत समाज निर्माणमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत प्रचण्डले गरेका छन्।

प्रतिक्रिया दिनुहोस