देउसीभैलोबाट ४० हजार संकलन, ठेहेका ज्येष्ठ नागरिक सामाजिक सेवामा सक्रिय”
कार्तिक २०८३,२६ विहीबार
हुम्ला । तिहारको सांस्कृतिक परम्परालाई सामाजिक सेवासँग जोड्दै हुम्लाको ठेहे गाउँका ज्येष्ठ नागरिकले देउसीभैलोबाट संकलित ४० हजार रुपैयाँ सामाजिक कार्यमा खर्चिने भएका छन्। सिमकोट गाउँपालिका–१ स्थित ठेहे गाउँका ज्येष्ठ नागरिकले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन गरेका हुन्।
संकलित रकम गाउँको विकास निर्माण, मानवीय सहयोग तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाइएको छ। देउसीभैलोबाट आर्थिक सहयोग जुटाउनुका साथै ज्येष्ठ नागरिकले श्रमदानमार्फत गाउँमा सामाजिक कामसमेत गरेका छन्।
शुभदीपावलीको अवसरमा गाउँमा रहेको गुम्बादेखि शालीभान्ने ढुङ्गासम्म पशुचौपाया तथा मानिस आवतजावत गर्ने बाटो निर्माण गरिएको ठेहे गाउँ निवासी युवा वलराज भण्डारीले जानकारी दिए। उनका अनुसार गाउँमा रहेका ढल तथा नालाको सरसफाइसमेत गरिएको छ।
ठेहे गाउँका ज्येष्ठ नागरिकले संकलित रकम आगामी दिनमा परोपकारी, समाजसेवी तथा मानवीय सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्न खर्चिने बताएका छन्। गाउँको विकास र सामाजिक सेवामा रकम परिचालन गर्ने उद्देश्य रहेको उनीहरूको भनाइ छ।
देउसीभैलो कार्यक्रममा सहभागी रामदेव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर भण्डारीले देउसी खेल्ने ज्येष्ठ नागरिकलाई २५ हजार रुपैयाँ मूल्य बराबरको जिउँदो खसी सहयोग गरेको युवा भण्डारीले जानकारी दिए।
त्यसैगरी, साविक ठेहे गाविस वडा नं. ६ निवासी लाल भण्डारीका छोरा विकास भण्डारी र अम्ररिते भण्डारीकी छोरी शान्ति भण्डारी लोक सेवा आयोगबाट इन्जिनियर पदमा स्थायी नियुक्ति भएपछि देउसीभैलो कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई जनही २५ हजार रुपैयाँ बराबरको एक–एक वटा खसी सहयोग गरेको जनाइएको छ।
परम्परागत संस्कृति संरक्षण गर्दै सामाजिक सेवामा योगदान पु¥याउने ठेहे गाउँका ज्येष्ठ नागरिकको यस पहलले गाउँमा सामूहिक सहभागिता, सामाजिक सद्भाव र परोपकारी भावनालाई थप प्रोत्साहन गरेको छ । उमेरले ज्येष्ठ भए पनि समाजप्रतिको जिम्मेवारी र सेवाभावमा सक्रिय उनीहरूको यो कार्य स्थानीय समुदायका लागि उदाहरणीय बनेको छ।