प्रथम गोल्डकपको उपाधि ठेहे फुटबल क्लबलाई
कार्तिक २८, २०८३ शनिबार
सिमकोट । हुम्लामा जारी प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि ठेहे फुटबल क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सिम ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै ठेहे फुटबल क्लबले गोल्डकपको उपाधि हात पारेको हो।
निर्धारित समय तथा थप गरिएको समयमा दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै ठेहे फुटबल क्लबले सिमकोट तल्लो गाउँको सिम ब्वाइज क्लबलाई पराजित गरेको हो। ठेहेका खेलाडीले पेनाल्टीमा गोल गर्नुका साथै आफ्ना गोलरक्षकले विपक्षीको प्रहार रोक्न सफल भएपछि टोलीको उपाधि यात्रा सुनिश्चित भएको थियो।
प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना दिगो विकास युवा क्लब र रानीबन युवा क्लबले गरेका हुन्। प्रतियोगितामा हुम्ला जिल्लाभरिका १६ वटा फुटबल क्लबको सहभागिता रहेको थियो। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिएको थियो।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सिम ब्वाइज क्लबले नाम्खा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। खेलभर आफ्नो प्रभाव कायम राखेको सिम ब्वाइजले नाम्खालाई गोल गर्ने अवसरबाट वञ्चित गर्दै प्रभावशाली जित निकालेको थियो।
त्यस्तै, दोस्रो सेमिफाइनलमा ठेहे फुटबल क्लबले भटभटे फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। प्रतिस्पर्धात्मक खेलमा चार गोल गर्दै ठेहेले आफ्नो जित सुनिश्चित गरेको थियो।
प्रतियोगिताको विजेता ठेहे फुटबल क्लबले नगद रु. १ लाख १५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिम ब्वाइज क्लबले नगद रु. ७५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रथम गोल्डकपले जिल्लामा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा स्थानीयस्तरमा खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।