प्रचण्ड मात्रै दोषी, राजतन्त्रचाहिँ निर्दोष ? ज्ञानेन्द्र शाहीलाई नरेश भण्डारीको प्रश्न
कात्तिक २८, २०८३, सोमबार
जुम्ला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नरेश भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीलाई राजतन्त्रको इतिहास अध्ययन गर्न आग्रह गरेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सधैँ अपराधीका रूपमा चित्रण गर्ने दृष्टिकोणप्रति प्रश्न उठाउँदै भण्डारीले पृथ्वीनारायण शाहको एकीकरण अभियानका क्रममा भएका हिंसालाई शाहीले कसरी व्याख्या गर्छन् भन्ने जिज्ञासा व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले शाहीलाई प्रचण्डप्रतिको आलोचनाभन्दा जुम्लाको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरेका छन्।
‘प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धितर्फ ध्यान दिनुहोस्। यति बुझिराख्नुस्– गालीको पसलमा ग्राहक घट्दैछन्। गालीशास्त्रको विद्यावारिधिले राजनीति चल्ने जमाना सकिँदैछ। उत्तेजनाको व्यापार गरेर जनतालाई झुक्याउने पुरानो फर्मुलाको म्याद गुज्रिँदैछ,’ भण्डारीले लेखेका छन्।

भण्डारीले जनयुद्धका क्रममा राज्य पक्षबाट भएको भनिएका करिब १० हजार नेपालीको हत्याको जिम्मेवारी तत्कालीन राजतन्त्र र राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उठाएका छन्।
‘प्रचण्ड मात्रै दोषी, तत्कालीन राजतन्त्रचाहिँ निर्दोष ? आफूले आदर्श मानेको राजतन्त्रको इतिहास पनि पढ्नुहोस्। त्यो इतिहास मसीले मात्र होइन, प्रजा, रैती र दास बनेर बाँच्न अस्वीकार गर्ने नेपालीहरूको रगत र आँसुले लेखिएको छ,’ उनले भनेका छन्।
भण्डारीले प्रचण्डप्रतिको घृणा र आलोचनामा मात्रै केन्द्रित हुनुभन्दा जुम्लाको विकास, समृद्धि र जनताको हितका विषयमा ध्यान दिन शाहीलाई सुझाव दिएका छन्।