अर्जेन्टिनालाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप च्याम्पियन
सोमबार, साउन ४, २०८३
हुम्ला। साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यससँगै स्पेनले १६ वर्षपछि पुनः विश्वकपको ट्रफी आफ्नो नाममा लेखाएको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सोमबार सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको १०६औँ मिनेटमा फेर्रान टोरेजले निर्णायक गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। त्यसपछि कुनै टोलीबाट थप गोल हुन नसकेपछि स्पेन विजयी बन्दै विश्व च्याम्पियन बनेको हो।
निर्धारित समयम अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै निर्णायक गोल गरेको थियो।
यसअघि सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि भिडन्त तय गरेको थियो।