नेपालको दाबी रहेको लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सञ्चालन

फिल्को मिसन

२०८३साउन १९ मंगलबार
बझाङ । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उत्तराखण्डस्थित लिपुलेक नाकाबाट पहिलो चरणमा १६ व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पनि व्यापार पुनः सुरु भएको बताइएको छ।
लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ। यसअघि भारत र चीनले नेपालको सहमति बिना लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालले औपचारिक असहमति जनाएको थियो।
व्यापार पुनः सञ्चालनबारे नेपाल सरकारको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको र कूटनीतिक माध्यमबाट सम्बन्धित पक्षसँग आफ्नो धारणा राख्ने बताएका छन्।
लिपुलेक हुँदै भारत–चीनबीचको परम्परागत सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको थियो। कोभिड–१९ महामारीपछि यो व्यापार पाँच वर्षपछि पुनः सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस