जडीबुटी संकलनमा गएका हुम्लाका १० जना एक सातादेखि सम्पर्कविहीन
खोज तथा उद्धारका लागि जिल्ला सुरक्षा समितिको बैठक, प्रदेश र संघीय सरकारलाई जानकारी गराइँदै
२०८३,असोज १२ गते
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका १० जना स्थानीय जडीबुटी संकलनका लागि वन क्षेत्रमा गएको एक साताभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। घरपरिवारको जीविकोपार्जनका लागि जडीबुटी संकलन गर्न खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमावर्ती वन क्षेत्रमा गएका उनीहरू लामो समयसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोज तथा उद्धारका लागि पहल थालिएको छ।
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराइएको आफन्त ग्वामसिंह भण्डारीले बताउनुभयो। उहाँका अनुसार जडीबुटी संकलनका लागि वन क्षेत्रमा गएका उनीहरू एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन्।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताउनुभयो। सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको र प्रदेश सरकार तथा नेपाल सरकारको गृह मन्त्रालयलाई समेत जानकारी गराइने उहाँले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय हुम्लाले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै खोज तथा उद्धारका लागि पहल भइरहेको जनाएको छ। दुर्गम वन क्षेत्रमा जडीबुटी संकलनका लागि गएका नागरिक लामो समयसम्म सम्पर्कविहीन भएपछि तत्काल खोजी टोली परिचालन गर्नुपर्ने माग आफन्तले गरेका छन्।
सम्पर्कविहीन हुनेमा बलिवान बोहरा, जुन बोहरा, गोरासिंह भण्डारी, धनपुरी भण्डारी, धनमानसिंह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।