बोगटीको नयाँ कृति ‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलन’ सार्वजनिक

फिल्को मिसन

२०८३ असोज,२१ बुधबार
काठमाडौं । कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र आगामी दिशामाथि केन्द्रित पुस्तक ‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलन’ सार्वजनिक गरिएको छ।
पुस्तक सार्वजनिक कार्यक्रमबारे काठमाडौं सम्पर्क मञ्चका सहसचिव विरजन महताराले जानकारी दिनुभएको हो । उनका अनुसार पुस्तकले कर्णालीको कम्युनिष्ट आन्दोलनलाई इतिहासको आँखाबाट हेर्दै त्यसको वर्तमान अवस्थाको समीक्षा र भविष्यको दिशाबारे बहस अघि बढाउने प्रयास गरेको छ।
पुस्तकमा कर्णालीको राजनीतिक इतिहास, सामाजिक रूपान्तरण तथा त्यस प्रक्रियामा कम्युनिष्ट आन्दोलनले खेलेको भूमिकाबारे अध्ययन र विश्लेषण गरिएको छ। कर्णालीको राजनीतिक तथा सामाजिक विकासक्रमलाई बुझ्न पुस्तकले महत्वपूर्ण आधार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


त्यस्तै, आगामी दिनमा कर्णालीको कम्युनिष्ट आन्दोलनले लिनुपर्ने राजनीतिक दिशा, उसले सामना गर्नुपर्ने चुनौती तथा उपलब्ध सम्भावनाबारे समेत पुस्तकमा विमर्श गरिएको बताइएको छ। कर्णालीको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका विषयमा थप अध्ययन, अनुसन्धान र बहसका लागि पुस्तक उपयोगी हुने विश्वास गरिएको छ।
पुस्तक लोकार्पण समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिका सदस्य शक्तिबहादुर बस्नेत विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा कर्णालीको राजनीतिक इतिहास, कम्युनिष्ट आन्दोलनको विकासक्रम तथा आगामी राजनीतिक दिशाबारे समेत छलफल भएको थियो। पुस्तकले कर्णालीमा कम्युनिष्ट आन्दोलनको योगदान, उपलब्धि, कमजोरी र सम्भावनालाई तथ्य तथा इतिहासको आधारमा बुझ्न थप बहसको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस