हिमपातका कारण हिल्सामा राजस्व संकलन कार्य प्रभावित

फिल्को मिसन

यारी नाका भन्सारद्वारा १६ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन
कात्तिक १५, २०८३, आइतबार
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–५, हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालयको राजस्व असुली कार्य पछिल्लो हिमपातका कारण प्रभावित भएको छ।
चीनको पुलान काउन्टी (ताक्लाकोट) बाट व्यापार तथा अन्य सामग्री खरिद गर्न गएका स्थानीयवासी र व्यापारी हिमपातका कारण फर्कन नसकेपछि राजस्व संकलन कार्य प्रभावित भएको हो।
शुक्रबार र शनिबार भएको हिमपातका कारण हिल्सामा राजस्व असुली कार्य रोकिएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए। उनका अनुसार हिमपातका कारण ताक्लाकोटबाट सामान लिएर फर्किने व्यापारी तथा अन्य व्यक्तिहरू आवतजावत गर्न नसक्दा भन्सार कार्यालयको राजस्व संकलन कार्य प्रभावित भएको हो। दुवै दिन ताक्लाकोटबाट एक जना पनि व्यक्ति हिल्सा नफर्किएको उनले बताए।
राजस्व संकलन कार्य ठप्प भएपछि भन्सारका कर्मचारीहरू कार्यालयमै बसेर मौसम अनुकूल हुने प्रतीक्षा गर्न बाध्य भएका छन्।
यसअघि गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको हिमपातका कारण अवरुद्ध भएको नारा लेकको सडकबाट हिउँ पन्छाएपछि कात्तिक ३ गतेदेखि आवागमन पुनः सञ्चालनमा आएको थियो। सडक सञ्चालनमा आएपछि ताक्लाकोटमा रहेका व्यापारी तथा अन्य व्यक्तिहरू फर्कन थालेसँगै भन्सार राजस्व संकलन पनि सुरु भएको थियो। तर, पुनः हिमपात भएपछि राजस्व असुली कार्य प्रभावित बनेको कार्यालय प्रमुख जैसीले बताए।
यारी नाका भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १६ लाख ६५ हजार रुपैयाँ राजस्व असुली गरिसकेको छ। पछिल्लो हिमपातले नाकाको आवागमन अवरुद्ध हुँदा आगामी दिनमा राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस