हुम्लाको स्याउ निर्यातमा कडाइ
भदौ पहिलो साताअघि नपठाइने, गुलियोपन परीक्षण र कृषि प्राविधिकको सिफारिस अनिवार्य
२०८३ साउन २६, मंगलबार
हुम्ला । हुम्लामा उत्पादन हुने स्याउ काँचो तथा गुणस्तरहीन अवस्थामा जिल्ला बाहिर निर्यात हुन नदिन प्रशासनले कडाइ गर्ने भएको छ । भदौ महिनाको पहिलो साताअघि स्याउ निर्यात नगर्ने निर्णय गर्दै निर्यातका लागि गुलियोपन परीक्षण र कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले स्याउ निर्यातसम्बन्धी यस्तो निर्णय गरेको हो ।
बैठकले स्याउको जात, उत्पादन क्षेत्र र गुलियोपनका आधारमा निर्यातयोग्य स्याउ पहिचान गर्ने व्यवस्था गरेको छ । निर्यातका लागि सम्बन्धित पालिकाको कृषि विकास शाखाबाट तोकिएको ढाँचामा गुलियोपन प्रमाणीकरणसहितको सिफारिस लिनुपर्नेछ ।
स्याउको गुलियोपन परीक्षण गर्न सम्बन्धित पालिका र कृषि विकास कार्यालयले रिफ्र्याक्टोमिटरको व्यवस्था गर्ने भएका छन्। कृषि प्राविधिकको सिफारिसबिना स्याउ जिल्ला बाहिर पठाउन पाइने छैन ।
काँचो स्याउ बाहिर पठाएको भेटिएमा नियन्त्रणमा लिएर सम्बन्धित पक्षलाई नै फिर्ता गर्ने निर्णयसमेत बैठकले गरेको छ । यद्यपि, सिजनमा पाइने स्याउका विभिन्न जात भने कृषि प्राविधिकको सिफारिसका आधारमा निर्यात गर्न सकिनेछ ।
यससम्बन्धी सूचना कृषि विकास कार्यालयले प्रकाशन गरी जिल्लाका सबै स्थानीय तह, कृषि उद्यमी तथा व्यापारीलाई जानकारी गराउनेछ ।
त्यस्तै, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने स्याउका कार्टुनमा हुम्लाको पहिचान खुल्ने विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।
हुम्लाको स्याउको गुणस्तर कायम राख्दै बाहिरी बजारमा उचित मूल्य प्राप्त गर्ने र हुम्लाको स्याउको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले किसान, व्यापारी, स्थानीय तह तथा सरकारी निकायबीच समन्वय र सहकार्यमा जोड दिइएको बैठकले जनाएको छ ।