ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी, जिन्सी शाखाका कागजात नष्ट
२०८३, भदौं ८ ,सोमबार
सिमकोट। हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति करिब २ बजे आगलागी हुँदा महत्त्वपूर्ण सरकारी कागजात तथा श्रेष्ता जलेर नष्ट भएका छन्।
स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए पनि भवनको तल्लो तलामा रहेको जिन्सी शाखा पूर्ण रूपमा जलेको गाउँपालिकाले जनाएको छ । स्थानीय नरवीर थापाका अनुसार आगलागी भएको जानकारी पाएलगत्तै नजिकै रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। उक्त भवनमा गाउँपालिकाका केही कर्मचारीसमेत बस्दै आएका थिए।
आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय तथा जिन्सी शाखामा राखिएका अधिकांश महत्त्वपूर्ण श्रेष्ता र कागजात नष्ट भएका छन्। गाउँपालिका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार अत्यावश्यक कागजात राखिएको जिन्सी शाखा पूर्ण रूपमा जलेर ठूलो क्षति पुगेको छ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्ने सार्कीले बताउनुभयो।
गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त प्रशासनिक भवन जिल्लाकै नमुना भवनका रूपमा परिचित थियो। यसअघि गाउँपालिकाको कार्यालय अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो। भवनको तल्लो तलामा जिन्सी शाखालगायत अन्य शाखाहरू तथा माथिल्लो तलामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए।
स्थानीयका अनुसार रातिको समयमा अचानक आगलागी भएकाले समयमै जानकारी हुन सकेन। जिन्सी शाखामा राखिएका ब्याट्री पड्किँदा आगोले थप क्षति पु¥याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले आगलागी कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालयमा जडान गरिएको सिसिटिभी फुटेजसमेत अध्ययन गरी घटनाको वास्तविक कारण पत्ता लगाइनेछ।
आगलागीका कारण गाउँपालिकाको विद्युत् वायरिङ, बल्बलगायत भौतिक संरचनामा समेत क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ।