लाप्चा नाका खुल्दै, ङिङ खोलाको पुल बगेपछि यातायात सञ्चालनमा समस्या
२०८३ साउन १८, सोमबार
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाले लाप्चा नाका हुँदै नेपाल–चीनबीच हुने वस्तु विनिमय व्यापार साउन ९ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। तर नाका सञ्चालनको तयारी अन्तिम चरणमा पुगेका बेला जाङस्थित ङिङ खोलामा राखिएको ह्युम पाइप बाढीले बगाएपछि नाकासम्मको यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार व्यापारमा सहभागी हुन इच्छुक व्यापारीहरूले आवश्यक कागजातसहित साउन ८ गतेभित्र नाम्खा गाउँपालिका–५, यालबाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा दर्ता गराइसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले जानकारी दिए।
उनका अनुसार तोकिएको समयभित्र दर्ता नगर्ने वा आवश्यक विवरण पेश नगर्ने व्यापारीलाई नाकामा प्रवेश अनुमति दिइने छैन।
व्यापारका लागि नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र, चालकको मोबाइल नम्बर, पास नम्बर, सवारीसाधनको विवरण तथा लैजाने सामानको विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरेका व्यापारीलाई मात्र नाकामा प्रवेशको अनुमति दिइने गाउँपालिकाले जनाएको छ।
हुम्लाको प्रमुख व्यापारिक नाकामध्ये एक मानिने लाप्चा नाका सञ्चालनमा आएपछि स्थानीय व्यापार, ढुवानी तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
यता, नाम्खा गाउँपालिका–६ अन्तर्गत जाङ गाउँ नजिकैको ङिङ खोलामा राखिएको ह्युम पाइप हालै आएको बाढीले बगाएपछि सडक अवरुद्ध बनेको छ। सडक अवरुद्ध हुँदा नाका हुँदै हुने व्यापार, ढुवानी तथा स्थानीयवासीको आवतजावत प्रभावित भएको छ।
स्थानीयवासी तथा व्यापारीहरूले नाका सञ्चालनअघि नै डोजर परिचालन गरी अस्थायी सडक निर्माण गर्न वा वैकल्पिक मार्गको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार समयमै सडक सञ्चालनमा नआए नाका खुले पनि व्यापार, ढुवानी तथा पर्यटकीय गतिविधि अपेक्षाअनुसार सहज हुन कठिन हुने देखिएको छ।