उच्च हिमाली क्षेत्रमा भारी हिमपात, उत्तरी हिल्सालगायत उच्च भूभाग सेताम्य
अर्जुन बोहरा
असोज १०, २०८३ शनिबार
सिमकोट । निरन्तर वर्षासँगै हिमाली जिल्ला हुम्लाका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि भारी हिमपात भइरहेको छ। उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिल्सा, न्यालु, नारा–लेखलगायतका उच्च भूभागमा हिमपात भएपछि क्षेत्र सेताम्य बनेको छ।
चीनसँगको सीमावर्ती हिल्सा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमिसकेको स्थानीयले बताएका छन्। हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार शनिबार बिहानसम्म पनि हिमपात निरन्तर भइरहेको छ। हिमपातका कारण सडक तथा पैदलमार्गमा हिउँ जम्न थालेपछि आवतजावतमा समेत कठिनाइ भएको उनले बताइन्।
जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षासँगै उच्च भूभागमा हिमपात भएपछि उत्तरी हुम्लामा चिसोसमेत अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए। उनका अनुसार सुरुमा पानी परे पनि अहिले उच्च क्षेत्रमा हिमपात भइरहेको छ।
करिब पाँच हजार मिटर उचाइका क्षेत्रसहित सदरमुकाम सिमकोट आसपासका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा समेत हिमपात भएको छ।
यस वर्ष हुम्लामा असोजमै पहिलो हिमपात भएको हो। गत वर्ष असोज २४ गते पहिलो हिमपात भएकोमा यस वर्ष असोज ९ गते नै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो।
शुक्रबारदेखि हुम्लाका विभिन्न क्षेत्रमा वर्षा र उच्च भूभागमा हिमपात भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीले वर्षा तथा हिमपातका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च क्षेत्रमा आवतजावत गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।