सर्केगाडको कृषिमा भारतको ८ करोड लगानी: उत्पादनदेखि बजारीकरणसम्म नयाँ परियोजना
२०८३ साउन २६, मंगलबार
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकामा ८ करोड रुपैयाँभन्दा बढी लगानीमा कृषि उपज प्रवर्धन केन्द्र स्थापना हुने भएको छ । केन्द्र स्थापना तथा सञ्चालनका लागि भारत सरकारको सहयोगमा त्रिपक्षीय सम्झौता भएको छ ।
उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुने परियोजनाका लागि भारतीय राजदूतावासका विकास साझेदार काउन्सेलर अविनाश कुमार सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव होमनाथ काफ्ले र सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सर्केगाड गाउँपालिकाले २०८१ असोज १० गते पेश गरेको प्रस्ताव स्वीकृत भएपछि परियोजनाका लागि ८ करोड ११ लाख ४१ हजार ३५१ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कृषि उपज प्रवर्धन केन्द्रमार्फत सर्केगाडमा उत्पादन हुने स्थानीय तथा रैथाने बालीको उत्पादन, संकलन, प्रशोधन, यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकले उत्पादनको उचित मूल्य पाउनुका साथै कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

गाउँपालिका उपाध्यक्ष देवकी तिमिल्सिनाले केन्द्रले स्थानीय कृषक, विशेषगरी विपन्न तथा गरिब परिवारको आयआर्जन बढाउन महत्वपूर्ण योगदान गर्ने बताइन् । उनका अनुसार परियोजनाले कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरणलाई गति दिनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज बनाउनेछ ।

परियोजना स्वीकृति तथा सम्झौता प्रक्रियामा सहयोग गर्ने भारतका राजदूत नवीन श्रीवास्तव, काउन्सेलर अविनाश कुमार सिंह, सेकेन्ड सेक्रेटरी गरिमा नौट्याल, कुमार गौरवसहित सम्बन्धित मन्त्रालय, गाउँपालिका परिवार तथा सम्पूर्ण सरोकारवालालाई गाउँपालिका अध्यक्ष रोकायाले धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष रोकायाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भरताको यात्रामा परियोजना महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । गाउँपालिकाले त्रिपक्षीय सम्झौतालाई सर्केगाडवासीका लागि गौरव र खुसीको क्षणका रूपमा लिएको जनाएको छ ।
परियोजना कार्यान्वयनसँगै सर्केगाडका स्थानीय तथा रैथाने कृषि उत्पादनलाई व्यवस्थित रूपमा उत्पादनदेखि बजारसम्म जोड्ने अपेक्षा गरिएको छ ।