आगलागीका घाइतेको उपचारका क्रममा बुम्बु फडेराको मृत्यु
पुस पुस, २०८२
हुम्ला । आगलागीमा परी घाइते भएकी हुम्ला जिल्लाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। हुम्ला जिल्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँ निवासी बुम्बु फडेराको गएराति उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन्।
पुस महिनाको बिहीबार राति करिब ११ बजे रिप गाउँमा रहेको लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको थियो। उक्त आगलागीमा परेर स्थानीय लैबा फडेरा र उनकी श्रीमती बुम्बु फडेरा घाइते भएका थिए। आगलागीका कारण तीन वटा घर पूर्णरूपमा जलेर नष्ट भएका थिए।
घटनामा लैबा फडेराको करिब ५४ प्रतिशत र बुम्बु फडेराको करिब १८ प्रतिशत शरीर आगोले जलेको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुवै घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
गम्भीर घाइते बुम्बु फडेराको काठमाडौंमा उपचारकै क्रममा निधन भएको खबरले स्थानीयवासीसहित परिवारजनलाई गहिरो मर्माहत बनाएको छ। अर्का घाइते लैबा फडेराको उपचार भने जारी रहेको बताइएको छ।