खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा छवाङको टिम र हिमाल प्रथम
पुस २०, २०८२
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रेजिना मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित कर्णाली सेरोफेरा डटकमको आयोजनामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा विभिन्न विधाअन्तर्गत डबलतर्फ १५ टिम र सिङ्गलतर्फ ८ जना खेलाडी सहभागी भएका थिए। डबलतर्फ छवाङ लामा र राजेन्द्र परियारको टिम प्रथम हुन सफल भएको छ भने सिङ्गलतर्फ हिमाल लामा प्रथम भएका छन् ।
डबलतर्फको फाइनल खेल छवाङ लामा र राजेन्द्र परियारको टिम तथा अशोक बोहरा र लोकराज न्यौपानेको टिमबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो । फाइनल खेलमा अशोक बोहरा र लोकराज न्यौपानेको टिमलाई पराजित गर्दै छवाङ लामा र राजेन्द्र परियारको टिमले उपाधि हात पारेको हो । अशोक बोहरा र लोकराज न्यौपानेको टिम दोस्रो भएको छ ।
त्यसैगरी प्रेम भण्डारी र धनजीत भण्डारीको टिम तेस्रो तथा रामे भण्डारी र आञ्जनी लामाको टिम सान्त्वना स्थानमा रहन सफल भएको आयोजकले जनाएको छ । सिङ्गलतर्फ सम्पन्न खेलमा हिमाल लामा प्रथम भएका छन् भने धिरिन रावत दोस्रो स्थानमा प्राप्त गरेका छन् ।
पुस १६ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता हुम्लाकै सबैभन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता भएको आयोजकले जनाएको छ । डबलतर्फ प्रथम हुने टिमलाई कप, मेडल, प्रमाणपत्र सहित २० हजार रुपैयाँ नगद, दोस्रो हुने टिमलाई मेडल, प्रमाणपत्रसहित १४ हजार रुपैयाँ नगद, तेस्रो हुने टिमलाई मेडल, प्रमाणपत्रसहित ८ हजार रुपैयाँ नगद तथा सान्त्वना हुने टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी सिङ्गलतर्फ प्रथम हुने खेलाडीलाई कप, मेडल, प्रमाणपत्रसहित ५ हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई मेडल, प्रमाणपत्रसहित ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
खेल सञ्चालनदेखि समापनसम्म उत्कृष्ट खेलाडीको रूपमा हिमाल लामा र अनुशासित खेलाडीको रूपमा दलानन्द जोशी पुरस्कृत भएका छन् । प्रतियोगिता सिमकोट गाउँपालिका वडा नम्बर ६ स्थित भुवाखाडा ब्याडमिन्टन हलमा सञ्चालन गरिएको हो ।