ट्रम्प विश्वकप फाइनल हेर्न आउने भएपछि न्यु जर्सीमा सुरक्षा व्यवस्था कडा
२०८३ साउन ३ गते, आइतबार
एजेन्सी । न्यु जर्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा विश्वकप फुटबलको फाइनल खेल प्रत्यक्ष अवलोकन गर्न आइतबार न्यु जर्सी पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था उच्च सतर्कतासहित कडा पारिएको छ।
अमेरिकी सुरक्षा निकायका अनुसार ट्रम्पको उपस्थितिलाई मध्यनजर गर्दै रंगशाला र आसपासका क्षेत्रमा बहुस्तरीय सुरक्षा योजना लागू गरिएको छ। अमेरिकी गोप्य सुरक्षा सेवा (सिक्रेट सर्भिस), संघीय तथा स्थानीय प्रहरीसहित विभिन्न सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको छ। ट्रम्प रंगशालामा रहने अवधिभर वरपरको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिनेछ भने केही सडकमा सवारी आवागमनसमेत सीमित गरिने जनाइएको छ।
स्पेन र अर्जेन्टिनाबीच हुने फाइनल खेलपछि ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ। यो ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो फिफा विश्वकप फाइनल खेल हुनेछ।
प्रतियोगिताका क्रममा ट्रम्पको भूमिकालाई लिएर यसअघि विवादसमेत उत्पन्न भएको थियो। अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै उनले फिफा अध्यक्ष इन्फान्टिनोसँग टेलिफोन संवाद गरेको समाचार सार्वजनिक भएपछि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो। यद्यपि, फिफाले उक्त विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन।
विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सफल संस्करणमध्ये एक भएको बताएका छन्। उनका अनुसार प्रतियोगिताले संयुक्त राज्य अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियतामा उल्लेखनीय वृद्धि गरेको छ।
ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनल खेलमा उपस्थित रहने जनाइएको छ।
फाइनल खेलमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, स्पेनी राजपरिवारका सदस्य, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम तथा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको समेत उपस्थिति रहने कार्यक्रम छ। त्यसैले यसपटकको विश्वकप फाइनल खेल खेलकुदीय प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाटको महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ।
विश्वभरका करोडौं दर्शकको ध्यान केन्द्रित भएको यस फाइनलमा विभिन्न मुलुकका उच्च राजनीतिक नेतृत्वको उपस्थितिका कारण सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको अमेरिकी अधिकारीहरूले बताएका छन्। उच्चस्तरीय सुरक्षा व्यवस्थासहित हु