लिमीमा वैकल्पिक समाधान: ह्यूम पाइपबाट पुल निर्माण

फिल्को मिसन

२०८२ चैत ।

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको लिमी गाउँको ताक्ची क्षेत्रमा लिमी कर्णाली नदीमाथि ह्यूम पाइप प्रयोग गरी सवारी साधन सञ्चालनयोग्य पुल निर्माण गरिएको छ

बर्खायाममा नदीको बहाव अत्यधिक बढ्ने हुँदा हरेक वर्ष तीनदेखि चार महिनासम्म यातायात अवरुद्ध हुने समस्या समाधान गर्न उक्त वैकल्पिक संरचना निर्माण गरिएको हो।

स्थानीय तहले विगत चार वर्षदेखि पक्की मोटरेबल पुल निर्माणको माग गर्दै आए पनि तत्काल सम्भावना नदेखिएपछि अस्थायी समाधानका रूपमा ह्यूम पाइपमार्फत पुल निर्माण गरिएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार, ह्यूम पाइपहरू गत मंसिरमा सुर्खेतबाट ढुवानी गरी निर्माणस्थलमा पुर्‍याइएका थिए। चिसो मौसमका कारण त्यसबेला सिमेन्ट ढलानको काम सम्भव नभएकाले अहिले निर्माण कार्य सम्पन्न गरिएको हो।

ताक्ची क्षेत्रमा लिमी कर्णाली नदीका दुई स्थानमध्ये एक ठाउँमा पाँचवटा र अर्को स्थानमा तीनवटा ह्यूम पाइप जडान गरी पुल निर्माण गरिएको छ। पाइपहरू नदीको प्राकृतिक बहावलाई अवरोध नपुग्ने गरी व्यवस्थित रूपमा बिछ्याइएका छन् र माथि सिमेन्ट ढलान गरिएको छ।

निर्मित पुलबाट एकपटकमा एकवटा सवारी साधन सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ। निर्माण कार्यमा १०४ जना श्रमिकको सहभागिता रहेको थियो।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार, पुल निर्माणपछि लिमीका तीनवटा गाउँ तथा लाप्चा क्षेत्रबाट कैलाश–मानसरोवर दर्शनका लागि हुने आवतजावत थप सहज भएको छ। साथै, बर्खायाममा समेत यातायात सेवा अविच्छिन्न रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

यसअघि बर्खायाममा नदीको जलस्तर बढेपछि यातायात पूर्ण रूपमा ठप्प हुने गरेको थियो। स्थानीय बासिन्दाले सवारी साधन नदीमै तरेर वारपार गराउने जोखिमपूर्ण अभ्यास अपनाउँदै आएका थिए।

गाउँपालिका र पूर्वाधार विकास कार्यालयको लागत साझेदारीमा कुल ४८ लाख रुपैयाँमा पुल निर्माण गरिएको हो। यसमध्ये १५ लाख रुपैयाँ गाउँपालिकाले व्यहोरेको छ भने बाँकी रकम पूर्वाधार विकास कार्यालयबाट व्यवस्थापन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस