मनमोहक हिमशृङ्खला अवलोकन गर्न सिमकोट पदमार्ग लोकप्रिय
मंसिर १६, २०८२
हुम्ला। हुम्लाको सदरमुकाम सिमकोट आसपासका पदमार्गहरू मनमोहक हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न चाहने पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेका छन् । च्याङ्गला हिमाल, पञ्चमुखी हिमाल तथा नजिकैको सैपाल हिमाल क्षेत्रलाई जोड्ने यी पदमार्ग असारदेखि कात्तिक महिनासम्म पदयात्राका लागि सबैभन्दा उपयुक्त मानिन्छन् । सोही मौसममा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकहरू बढी यस क्षेत्रमा देखिन्छन् ।

कैलाश–मानसरोवरबाट बग्ने कर्णाली, ताकुलेकबाट बग्ने चुवाखोला कर्णाली र मुख्य कर्णाली नदीसँगै अघि बढ्ने धार्मिक तथा पर्यटकीय मार्गमा यात्रा गर्दा भेटिने प्राकृतिक सम्पदाले पर्यटकलाई मोहनी लगाउने गरेको छ । हुम्लाको लिमी–लाप्चाबाट कैलाश मानसरोवरको दुरदर्शन गर्न सकिने भएकाले पनि यहाँको धार्मिक महत्व थपिएको छ ।

नेपालकै अग्लो सदरमुकाम सिमकोट र यससँग जोडिएका धार्मिक–पर्यटकीय पदमार्गमा आन्तरिक पर्यटकको चाप निरन्तर बढ्दै गएको छ । नजिकैबाट हिमाल, झरना, नदीनाला तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले हुम्ला पदमार्ग देश–विदेशका यात्रुहरू बीच लोकप्रिय बन्दै गएको हो ।

यात्राको क्रममा क्यामेराको लेन्सबाट सुन्दर हिमाल, झरना र प्रकृतिका बिभिन्न रूप कैद गर्न सकिने अवसर यस पदमार्गको विशेष आकर्षण मानिन्छ । दर्जनौँ हिमशृङ्खलाको अवलोकन, रलिङ्ग गुम्बामा संरक्षित १२१३ सालको नेपाली भाषाको ताम्रपत्र, खार्पुनाथ मन्दिर तथा विभिन्न धार्मिक स्थलहरूले यात्रालाई अझ अर्थपूर्ण बनाउँछन् । वरिपरि हिउँले ढाकिएका हिमाल, सहज पदमार्ग तथा पर्याप्त आवास–व्यवस्थाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्दै गएको छ ।

सिमकोट पुग्न नेपालगञ्ज वा सुर्खेतबाट हवाई सेवा सहज उपलब्ध छ । नेपालगञ्जबाट विभिन्न विमान कम्पनीका जहाजहरूले करिब ४० मिनेटमा सिमकोट पु¥याउँछन् । त्यस्तै, निर्माणाधीन कर्णाली करिडोरमार्फत नेपालगञ्जको जमुना हुँदै हुम्लाको उत्तरी नाका हिल्सा सम्म निजी वा सार्वजनिक सवारीसाधन प्रयोग गर्न सकिन्छ । यातायात सहज भएसँगै बसमार्फत नेपालगञ्जबाट करिब तीन दिनमा सिमकोट पुग्न सकिने भएको छ ।






