सर्केगाड गाउँपालिकामा एकै साथ तीन स्थानमा फोर-जी सेवा सञ्चालन

फिल्को मिसन

मङ्सिर २, २०८२

हुम्ला । लामो प्रतीक्षापछि सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको फोर-जी सेवा आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाको गौसा, जैर र छ्यागी गरी तीनवटा टावर सञ्चालनमा आएसँगै स्थानीयवासीले आधुनिक द्रुतगतिको इन्टरनेट सेवा पाउन थालेका छन्।

फोर-जी सेवा सञ्चालनमा आएपछि स्थानीयवासी अत्यन्तै खुशी र उत्साहित भएको देखिएको छ। सञ्चार पहुँच विस्तारका लागि पछिल्ला वर्षहरूमा गरिएको निरन्तर प्रयास सफल भएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए।

सर्केगाड क्षेत्रमा सेवाविस्तारमा योगदान पुर्‍याएबापत अध्यक्ष रोकायाले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सबिना मास्के, उप–प्रबन्धक प्रेम क्षेत्री, निर्देशक प्रेम सिलवाल, फिल्ड प्राविधिक टोलीका सहायक प्राविधिक अधिकृत राकेश गिरी र रमेश प्रसाद घिमिरे, तथा प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछाने प्रति आभार व्यक्त गरे।

नेपाल टेलिकमका अनुसार टावर सञ्चालनमा आएपछि सर्केगाड मात्र नभई छिमेकी ग्रामीण वडाहरूमा समेत फोर-जी सेवा विस्तार भइरहेको छ। साथै, सेवा नपुगेका स्थानमा समेत विस्तार गर्ने लक्ष्यसहित सर्केगाड–५ भदालीस्थित भिस्याट प्रणालीलाई निकट भविष्यमा फोर-जी मा रूपान्तरण गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

सञ्चार प्रविधिको विकाससँगै सर्केगाडमा द्रुतगतिको इन्टरनेट पहुँच अझै बलियो हुने, सेवाप्रवाह छिटो, सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस