पहिरोले विद्यालयको निर्माणाधीन भवनमा ठूलो क्षति

डबल महतरा

भाद्र ८, २०८२
हुम्ला । हुम्लामा अविरल वर्षासँगै आएको पहिरोले ताँजाकोट–३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा ठूलो क्षति पु¥याएको छ। पहिरोबाट करिब २० लाख रुपैयाँबराबरको नोक्सानी भएको विद्यालयले जनाएको छ ।
शुक्रबार बेलुका विद्यालयको पछाडिबाट खसेको पहिरोले निर्माणाधीन आरसीसी भवनको ठूलो हिस्सा क्षतिग्रस्त भएको प्रधानाध्यापक गंगादत्त जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालय पछाडिको भागमा मेसिनरी वाल नहुँदा बारम्बार पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ। “अझै पनि भारी वर्षा भएमा भवन पूरै जोखिममा पर्न सक्छ,” प्रधानाध्यापक जैसीले बताउनुभयो ।
विद्यालय क्षेत्रको संरक्षणका लागि धेरै पटक पहल गरे पनि कुनै तहबाट सकारात्मक पहल नभएको प्रधानाध्यापक जैसीको आरोप छ। “विद्यालयलाई नेताहरुले राजनीति गर्ने थलो मात्र बनाए, तर यसको विकास र सुरक्षातर्फ भने चासो दिएनन्,” उहाँले भन्नुभयो ।
भवन निर्माणका लागि प्रदेश संसद् कोष–सामाजिक विकास कार्यालयमार्फत ९० लाख रुपैयाँ विनियोजन गरी गत मंसिरदेखि काम सुरु गरिएको थियो। निर्माण सुरु हुनुअघि नै विद्यालय पछाडिको भागमा मेसिनरी तथा ग्याबिन वालको आवश्यकता बारे बजेट माग गर्दा समेत कुनै समर्थन नपाएको प्रधानाध्यापक जैसीले बताउनुभयो ।
विद्यालयमा भवनसँगै खेलमैदान, खानेपानी, शौचालय र घेरबारको समेत अभाव रहेको शिक्षक डबलबहादुर महताराले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा साधारणतर्फ कक्षा १२ सम्मका कक्षाहरु र प्राविधिक धारतर्फ पशु विज्ञान (एलपिएच्) को १८ महिने कार्यक्रम सञ्चालनमा छ ।
हुम्ला जिल्लामा सबैभन्दा बढी विद्यार्थी संख्या भएको विद्यालयमध्ये धर्मोदय माध्यमिक विद्यालय दोस्रो–तेस्रो स्थानमा पर्छ । हाल विद्यालयमा झन्डै ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको शिक्षक महताराले बताउनुभयो ।
यसैबीच, केही दिनअघि मात्र प्रदेश समानुपातिक संसद् विकास कोषअन्तर्गत सामाजिक विकास कार्यालय, हुम्लाले विद्यालयको जोखिमपूर्ण पछाडिको भागमा ग्याबिन वाल निर्माण कार्य सुरु गरेको विद्यालय स्रोतले जनाएको छ । पछिल्लो पहिरोपछि तत्काल जोखिम न्यूनीकरणका लागि यो बजेट व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस