हुम्लाका जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ तथा धर्ना
असार १, २०८३ सोमबार
सिमकोट ।हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरूले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । हुम्ला–बाजुरा सीमा विवादको विषयलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा र रानीखर्क संरक्षण अभियानको आयोजनामा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम गरिएको हो।
अभियानले सीमा विवाद समाधान नगरी एकतर्फी रूपमा लाम्पाटा क्षेत्रमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। हुम्लावासीको भावना र सरोकारलाई बेवास्ता गर्दै सुरक्षा बेस क्याम्प स्थापना गरिएको भन्दै जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीय नागरिकहरू धर्नामा सहभागी भएका थिए।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले सीमा विवाद समाधानका लागि नेपाल सरकार गम्भीर हुनुपर्ने बताउँदै विवादित क्षेत्रको यथार्थ अध्ययन र स्थानीय पक्षसँगको समन्वयबिना गरिएका निर्णय स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले लाम्पाटा, कवाडी तथा रानीखर्क क्षेत्र हुम्लाको ऐतिहासिक र प्रशासनिक क्षेत्रभित्र पर्ने दाबी गर्दै स्थानीयवासीको अधिकार र पहिचानको संरक्षणका लागि आन्दोलन जारी रहने चेतावनी दिनुभयो।
अभियानले धर्ना कार्यक्रममार्फत सरकारसमक्ष विभिन्न मागहरू प्रस्तुत गरेको छ। अभियानका अनुसार सहमतिविना तथा पूर्वाग्राही ढङ्गले लाम्पाटामा स्थापना गरिएको संयुक्त सुरक्षा बेस क्याम्पलाई तत्काल बाजुराको गुम्बा क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने, नेपाल सरकारद्वारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा सीमा विवादको निष्पक्ष समाधानका लागि उच्चस्तरीय पहल थालिनुपर्ने माग गरिएको छ।
धर्नामा सहभागीहरूले सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म विवादित क्षेत्रमा कुनै पनि पक्षबाट प्रशासनिक वा सुरक्षा संरचना विस्तार नगर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले स्थानीय जनताको भावना विपरीत गरिएका निर्णयले जिल्लाबीचको सद्भाव र सामाजिक एकतालाई असर पु¥याउन सक्ने चेतावनी समेत दिएका छन्।
धर्ना कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला भाम रोकाया, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, नेपाली कांग्रेस हुम्लाका उपसभापति बसन्त रोकाया, नेकपा (एमाले) हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि कर्णवीरबहादुर शाही, विभिन्न वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।
अभियानले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।