सामाजिक विकास कार्यालय हुम्लाको ९७.६ प्रतिशत बजेट खर्च, कर्णालीमै उत्कृष्ट कार्यसम्पादनको दाबी
विकट भौगोलिक चुनौतीबीच योजनाबद्ध कार्यान्वयन र प्रभावकारी व्यवस्थापनले हासिल ग¥यो उल्लेखनीय वित्तीय प्रगति
२०८३ साउन ३, आइतबार ।
हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लास्थित सामाजिक विकास कार्यालय ले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटको ९७.६ प्रतिशत खर्च गर्दै उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । प्रारम्भिक वित्तीय विवरणका आधारमा कार्यालयले बजेट खर्च र समग्र कार्यसम्पादनका हिसाबले कर्णाली प्रदेशमै उत्कृष्ट रहेको दाबी गरेको छ ।
कार्यालय प्रमुख ईश्वरबहादुर सिंहका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित रु २१ करोड ८७ लाख २१ हजार बजेटमध्ये ९७.६ प्रतिशत खर्च भइसकेको छ भने २.४ प्रतिशत बजेट खर्च हुन बाँकी रहेको छ ।
प्रमुख सिंहले दुर्गम भौगोलिक अवस्था, सीमित स्रोत–साधन, प्रतिकूल मौसम तथा विकट बस्तीमा सेवा प्रवाह गर्नुपर्ने चुनौतीका बाबजुद कार्यालयले उच्च बजेट खर्च गर्न सफल भएको बताए । उनका अनुसार योजनाबद्ध व्यवस्थापन, समयमै कार्यक्रम कार्यान्वयन तथा कर्मचारीहरूको प्रतिबद्धता र समन्वयका कारण यो उपलब्धि सम्भव भएको हो ।
कार्यालयका अनुसार प्रारम्भिक वित्तीय प्रगति विवरणले हुम्लाको सामाजिक विकास कार्यालयलाई बजेट खर्च र कार्यसम्पादनका आधारमा कर्णाली प्रदेशकै अग्रणी कार्यालयका रूपमा देखाएको छ । यद्यपि प्रदेश सरकारले एकीकृत वित्तीय प्रगति विवरण सार्वजनिक गरेपछि मात्र यसको औपचारिक पुष्टि हुने प्रमुख सिंहले स्पष्ट पारे । कार्यालयले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, युवा, खेलकुद र सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमका साथै भौतिक पूर्वाधार निर्माणका योजनाहरू निर्धारित समयमै सम्पन्न तथा प्रभावकारी रूपमा कार्यान्वयन गरेकाले उच्च बजेट खर्च सम्भव भएको जनाएको छ ।
कार्यालयका अनुसार यो उपलब्धिले सार्वजनिक स्रोत–साधनको प्रभावकारी परिचालन, सुशासन र परिणाममुखी कार्यसम्पादनप्रति सकारात्मक सन्देश दिएको छ । दुर्गम हिमाली जिल्लामा समेत प्रभावकारी योजना व्यवस्थापन, अन्तरनिकाय समन्वय र कर्मचारीहरूको उच्च प्रतिबद्धतामार्फत उल्लेखनीय नतिजा हासिल गर्न सकिने उदाहरणका रूपमा यस उपलब्धिलाई हेरिएको कार्यालयको भनाइ छ ।
सामाजिक विकास कार्यालयले आगामी वर्षहरूमा पनि सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउँदै विकासका कार्यक्रमलाई अझ गुणस्तरीय ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।