हेड नेपालको अभियानः हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा ठोस प्रगति

अर्जुन बोहरा

पुस ९, २०८२, बुधबार
हुम्ला । हेड नेपालले हिमाली तथा दुर्गम क्षेत्रका समुदायलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । संस्थाले आफ्ना वार्षिक कार्यक्रम तथा गतिविधिहरू सार्वजनिक गर्दै यस अभियानमा निरन्तर सहयोग पु¥याउने साझेदार संस्था तथा सहयोगीदाताप्रति आभार व्यक्त गरेको छ ।
हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाका अनुसार संस्थाले यस वर्ष सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक समन्वय कार्यालय स्थापना गर्नुका साथै केन्द्रीय कार्यालयलाई हुम्लाको सिमकोटस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको छ । यस कदमले नीतिगत समन्वय, साझेदारी विकास तथा कार्यक्रम व्यवस्थापनलाई अझ प्रभावकारी बनाएको उनले जानकारी दिए ।
समावेशी शिक्षाअन्तर्गत अपाङ्गता भएका ५० जना बालबालिकालाई आवासीय सहयोग प्रदान गरिएको छ भने १३० जना सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । साथै पाँचतले मोडेल रिसोर्स सेन्टर सञ्चालनमा आएपछि दीर्घकालीन शैक्षिक सेवा विस्तारमा महत्वपूर्ण योगदान पुगेको संस्थाले जनाएको छ ।
आर्थिक सशक्तीकरण कार्यक्रमअन्तर्गत जलवायु–स्मार्ट कृषि, बाख्रापालन तथा आतिथ्य व्यवस्थापनसम्बन्धी तालिममार्फत ४७२ जनालाई दक्ष बनाइएको छ। यस्तै २४ वटा साना व्यवसाय दर्ता गरिनुका साथै ३०० घरपरिवारलाई कृषि सामग्री सहयोग उपलब्ध गराइएको छ ।
स्वास्थ्य सेवातर्फ फिजियोथेरापी, प्राथमिक उपचार तथा अपाङ्गता सहायता सेवामार्फत १२५ भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष लाभ पु¥याइएको छ । त्यस्तै सेनिटरी प्याड बैंक कार्यक्रममार्फत ८५० किशोरी तथा महिलालाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
हेड नेपालले आगामी दिनमा पनि समावेशी विकास, अधिकार प्रवद्र्धन तथा दिगो परिवर्तनका लागि आफ्ना कार्यक्रमहरूलाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस