कक्षा आठको गाउँपालिका स्तरीय परीक्षा सुरु

फिल्को मिसन

पुस १, २०८२
सिमकोट । सिमकोट गाउँपालिका स्तरीय कक्षा आठको वार्षिक परीक्षा मंगलबारबाट सुरु भएको छ। गाउँपालिकाले परीक्षा सञ्चालनका लागि दुई वटा केन्द्र तोकेको छ।
सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार परीक्षा मानसरोवर माध्यमिक विद्यालय केन्द्र र बालमन्दिर माध्यमिक विद्यालय केन्द्रमा सञ्चालन गरिएको हो।
गाउँपालिकाभित्रका सात वटा माध्यमिक विद्यालय र तीन वटा आधारभूत विद्यालय गरी जम्मा दश विद्यालयका परीक्षार्थीहरू परीक्षामा सहभागी भएका छन् । कुल २७८ जनाले परीक्षाका लागि आवेदन भरेकोमा २६७ जना परीक्षामा सहभागी भएका छन्। आजको परीक्षामा तीन जना परीक्षार्थी अनुपस्थित रहेका थिए भने आठ जनाले परीक्षामा सहभागिता जनाएका थिएनन् ।
बालमन्दिर माध्यमिक विद्यालय केन्द्रमा १३६ जनाले आवेदन दिएकोमा तीन जना अनुपस्थित रहेका थिए। त्यस्तै, मानसरोवर माध्यमिक विद्यालय केन्द्रमा १२७ जनाले आवेदन दिएकोमा १२६ जना परीक्षामा सहभागी भएका थिए।
परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। परीक्षा अनुगमन समितिका संयोजक तथा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकायाले परीक्षा केन्द्रहरूमा पुगेर अनुगमन गरेकी थिइन्।
गाउँपालिका स्तरीय कक्षा आठको वार्षिक परीक्षा पुस ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस