कर्णालीको पत्रकारितामाथि महतारा र अधिकारीको अनुसन्धानात्मक कृति सार्वजनिक

फिल्को मिसन

कर्णालीको पत्रकारिताको इतिहास, वर्तमान अवस्था र चुनौती समेटिएको १७२ पृष्ठको पुस्तक सार्वजनिक

२०८३ भदौ ३०

काठमाडौं। कर्णालीका अग्रज पत्रकार नवराज महतारा र प्रकाश अधिकारीद्वारा लिखित ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहाससम्बन्धी अनुसन्धान र अभिलेखीकरणको काम कर्णालीबाट सुरु भएकोमा खुसी व्यक्त गरे। सीमित स्रोतसाधनका बाबजुद धर्म, संस्कृति र इतिहासका विषयलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न पुस्तक कोशेढुंगा साबित हुने उनको धारणा थियो।

पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ र सीमित स्रोतसाधनका बाबजुद पुस्तक तयार पारिएको बताए। पुस्तकमा रहेका कमीकमजोरीलाई आगामी दिनमा परिष्कृत गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे।

कर्णालीको पत्रकारिताको ऐतिहासिकता र सञ्चार प्रणालीबारे चर्चा गर्दै महताराले भने, “वि.सं १०३८ को दैलेखको दुल्लुमा भेटिएको दामुपालको शिलालेखदेखि वि.सं. १११२ को हुम्लाको सिमकोट गाउँपालिकास्थित रलिङ गुम्बामा भेटिएको शिलालेखसम्म र अन्य थुप्रै गाउँमा भेटिएका लिपिका आधारमा पनि कर्णालीको सञ्चार प्रणाली र पत्रकारिताको ऐतिहासिकता निकै बृहत् छ।”

लामो समयदेखि कर्णालीमा पत्रकारिताको अभ्यास गर्दै आएको र यस विषयको विद्यार्थीका रूपमा प्राप्त अनुभव तथा तथ्यका आधारमा पुस्तक तयार पारिएको उनले बताए। उक्त दस्तावेजलाई प्रेस काउन्सिल नेपालले पुस्तकका रूपमा प्रकाशन गरेर कर्णालीमाथि ठूलो न्याय गरेको उनको भनाइ थियो।

कर्णालीको पत्रकारिताको इतिहास थप खोजी गर्नुपर्नेमा जोड

पुस्तकका विषयमा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य मनऋषि धितालले समीक्षात्मक टिप्पणी गर्दै कर्णालीको पत्रकारिताको विकास र अवस्थाबारे देशका विभिन्न क्षेत्रको दृष्टिकोण समेट्ने एकीकृत दस्तावेज तयार पार्ने सपना लामो समयदेखि रहेको बताए।

“कर्णालीको पत्रकारिताको विकास र अवस्थाका बारेमा पूर्वको कोशी प्रदेशदेखि मधेशले कसरी हेर्दो रहेछ भन्नेबारे एकीकृत दस्तावेज तयार पार्ने सपना हाम्रो पहिलेदेखि नै थियो। त्यो पूरा हुन सकिरहेको थिएन। तर लेखकद्वय महतारा र अधिकारीको अथक प्रयासमा काउन्सिलले हाम्रो सपना पूरा गरेको छ,” उनले भने।

उनले खस कर्णाली (ग्रेटर कर्णाली), खास (कर्णाली अञ्चल) र दश कर्णाली (हालको कर्णाली प्रदेश) को पत्रकारिताको इतिहास तथा वर्तमान अभ्यासलाई अझै गहिराइमा अध्ययन गर्नुपर्नेमा जोड दिए। ती विषयमा थप अनुसन्धान हुन सके पुस्तकले अझ व्यापक स्वरूप प्राप्त गर्ने उनको भनाइ थियो।

अग्रज पत्रकारहरूले सुनाए अनुभव

पुस्तक सार्वजनिक कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरू समीरजंग शाह, रुद्र खड्का, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मी केसी, राजबहादुर शाही र हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारितासम्बन्धी आफ्ना अनुभव तथा धारणा राखेका थिए।

त्यसैगरी वनस्पति विज्ञ डा. मानबहादुर रोकायलगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले कर्णालीको पत्रकारिताको इतिहास, विकासक्रम र वर्तमान अवस्थाबारे चर्चा गरेका थिए।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रममा पुस्तक लेखन, सम्पादन तथा प्रकाशनका क्रममा भएको मेहनतको स्मरण गर्दै उनले यस कार्यमा संलग्न सबैप्रति आभार व्यक्त गरे।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तक प्रकाशनको सन्दर्भमा संक्षिप्त जानकारी गराएका थिए। कार्यक्रममा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीका विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको उपस्थिति रहेको थियो।

कर्णालीको पत्रकारिताको समग्र दस्तावेज

प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘कर्णालीको पत्रकारिता’ पुस्तक १७२ पृष्ठको रहेको छ। कर्णाली क्षेत्रको आमसञ्चार क्षेत्रलाई नजिकबाट अध्ययन गरी तयार पारिएको पुस्तकमा कर्णालीमा पत्रकारिताको सुरुआत, छापाखानाको विकासक्रम, पत्रकारिताको वर्तमान अवस्था तथा प्रदेशमा पत्रकारिताको आधुनिक स्वरूपबारे चर्चा गरिएको छ।

पुस्तकमा सञ्चारमाध्यमको स्थिति, सामाजिक सञ्जालको प्रयोग, नेपाल पत्रकार महासंघको भूमिका तथा कर्णाली प्रदेशका पत्रकारहरूको समग्र अवस्थालाई समेटिएको छ। साथै पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था र मोफसलमा पत्रकारिता गर्दा भोग्नुपरेका व्यावहारिक तथा प्राविधिक चुनौतीहरू पनि पुस्तकमा समावेश गरिएको प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए।

कर्णालीको पत्रकारिताको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अभ्यास र चुनौतीसम्मका विषय समेटिएको यस पुस्तकले प्रदेशको आमसञ्चार क्षेत्रसम्बन्धी अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस