एसईईपछि विद्यार्थी जिल्लामै रोक्न त्रिपक्षीय संशोधित सम्झौता
मानसरोवर माविमा विद्यार्थीलाई छात्रवृत्ति, शिक्षकलाई प्रोत्साहन र शैक्षिक गुणस्तर सुधारमा तीन पक्षको संयुक्त प्रतिबद्धता
२०८३ साउन १४, विहीबार
सिमकोट । हिमाली जिल्ला हुम्लामा विज्ञान तथा प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै एसईईपछि विद्यार्थीलाई उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले सिमकोट गाउँपालिका, आधार डेभलपमेन्ट नेपाल र मनसरोवर नमुना माध्यमिक विद्यालयबीच त्रिपक्षीय संशोधित सम्झौता भएको छ ।
बुधबार सम्पन्न सम्झौताअनुसार शैक्षिक सत्र २०८३/०८४ देखि कक्षा ११ र १२ मा सञ्चालन हुने विज्ञान तथा प्राविधिक शिक्षा प्रभावकारी बनाउन तीनै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने भएका छन्। सम्झौताले शिक्षक प्रोत्साहन, विद्यार्थी छात्रवृत्ति, प्रयोगशाला तथा पुस्तकालय व्यवस्थापन, नियमित अनुगमन र शैक्षिक गुणस्तर सुधारलाई संस्थागत गर्दै स्थानीयस्तरमै गुणस्तरीय विज्ञान शिक्षाको आधार बलियो बनाउने लक्ष्य लिएको छ ।

सम्झौताअनुसार आधार डेभलपमेन्ट नेपालले विज्ञान विषय अध्यापन गर्ने शिक्षकलाई अतिरिक्त मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने, आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने तथा विज्ञान, कृषि, ऐच्छिक अंग्रेजी र गणित अध्ययन गर्ने विद्यार्थीलाई आवश्यकताका आधारमा छात्रवृत्ति प्रदान गर्नेछ । साथै गणित र अंग्रेजी विषयप्रति विद्यार्थीको आकर्षण बढाउने, उच्च शिक्षाका लागि जिल्ला बाहिर हुने पलायन न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा विद्यालयको प्रयोगशाला, पुस्तकालय, विद्यार्थी स्वास्थ्य र मनोसामाजिक सहयोगमा समेत सहकार्य गर्ने जनाएको छ।

सिमकोट गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमन तथा मूल्याङ्कन, आवश्यक समन्वय, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालयले नियमित पठनपाठन, शिक्षक व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको नियमित उपस्थितिमा सुधार, सिकाइ उपलब्धि वृद्धि तथा सम्बन्धित निकायलाई आवश्यक शैक्षिक प्रतिवेदन उपलब्ध गराउने जिम्मेवारी लिएको छ।

सम्झौतामा विद्यालयको वार्षिक उत्तीर्ण दर कम्तीमा ८० प्रतिशत तथा सिकाइ उपलब्धि ६० प्रतिशतभन्दा माथि कायम गर्ने लक्ष्य निर्धारण गरिएको छ। यसबाट हुम्लामा गुणस्तरीय विज्ञान शिक्षाको पहुँच विस्तार हुनुका साथै स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी प्रमुख अतिथि तथा उपाध्यक्ष सुशीला भाम रोकाया विशेष अतिथिका रूपमा कार्याक्रम संचालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विजय भण्डारीले स्थानीय सरकार, विद्यालय र विकास साझेदारबीचको सहकार्यले हुम्लाका विद्यार्थीलाई आफ्नै जिल्लामै गुणस्तरीय विज्ञान तथा प्राविधिक शिक्षा हासिल गर्ने अवसर थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यो सम्झौताले विज्ञान तथा प्राविधिक शिक्षाको गुणस्तर मात्र बढाउने होइन, स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने आधार पनि बलियो बनाउनेछ।“
सम्झौतापत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, आधार डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक प्रल्हादकुमार ढकाल, मनसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक राजबहादुर शाही तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रावतले हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

दुर्गम हिमाली जिल्लामा विज्ञान तथा प्राविधिक शिक्षा सञ्चालन चुनौतीपूर्ण मानिँदै आएको अवस्थामा भएको यो त्रिपक्षीय सहकार्यलाई दीर्घकालीन शैक्षिक सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीय सरोकारवालाका अनुसार यस पहलले विज्ञान शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्नुका साथै एसईईपछि विद्यार्थीको जिल्ला बाहिर अध्ययनका लागि हुने पलायन घटाउन र स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।