परियोजना सल्लाहकार समितिसँग जिल्लास्तरीय समिक्षा
पुस ९, २०८२
सिमकोट । हुम्ला जिल्लाको सिमकोटमा जिल्ला परियोजना सल्लाहकार समितिसँग वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकीकृत विकास केन्द्रले सन् २०२५ मा सञ्चालन गरेका कार्यक्रमको प्रगति समीक्षा गरिएको थियो ।
समिक्षामा शिक्षा, स्वास्थ्य, कृषि र सरसफाइ क्षेत्रका महत्वपूर्ण उपलब्धिहरू प्रस्तुत गरिए। तथ्यांक अनुसार, लाइफहुड क्षेत्रमा ९५.१%, हेल्थ एण्ड वासमा ९८.८%, क्रसकटिङ क्षेत्रमा ८८.५%, मिल क्षेत्रमा ८२.१% र अन्य सूचकहरूमा ९७.४% प्रगति हासिल भई कुल ९२.५% समग्र उपलब्धि पुगेको देखाइएको छ ।
किर्डाक नेपाल हुम्लाका जिल्ला संयोजक जनक बुढाले जानकारी दिए अनुसार, चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोटका ५६ विद्यालयमा अध्ययनरत १,६४५ जना स्पोन्सर बालबालिकालाई लक्षित गरी विद्यालय पोशाक, कापी–कलम वितरण, भौतिक संरचना सुधार, प्राकृतिक प्रकोपपीडितलाई राहत र निधन भएका बालबालिकाका परिवारलाई सहयोग गरिएको छ ।
स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संस्थाको कार्यक्रम चारवटा गाउँपालिकामा केन्द्रित रहेको बताए। शिक्षा, स्वास्थ्य, कृषि र सरसफाइ क्षेत्रमा केन्द्रित यी कार्यक्रमले समुदायस्तरमा सकारात्मक प्रभाव ल्याएको जनाइएको छ ।
समिक्षा बैठकमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वर्षबहादुर फडेरा, उपाध्यक्ष शुसिला रोकाया, वडा अध्यक्षहरू, जिल्ला कार्यालय प्रमुखहरू र सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।