सिमकोट–ठेहे सडक स्तरोन्नतिका लागि तीन तहका सरकारको बजेट
आइतबार, साउन ३, २०८३
सिमकोट । सात वर्षअघि ट्र्याक खोलिएको सिमकोट–ठेहे सडकको स्तरोन्नतिका लागि संघ सरकार, कर्णाली प्रदेश सरकार र सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सुनिश्चित गरेका छन् । तीन तहका सरकारबाट बजेट व्यवस्थापन भएपछि सडक स्तरोन्नतिको काम सुरु हुने भएको हो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार सदरमुकाम सिमकोटबाट बुराउसे, वरगाउँ हुँदै ठेहेसम्म पुग्ने करिब १२ किलोमिटर सडक स्तरोन्नतिका लागि संघ सरकारले पूर्वाधार विकास कार्यालयमार्फत एक करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले समपूरक अनुदान अन्तर्गत ६० लाख रुपैयाँ छुट्याएको छ भने त्यसमा गाउँपालिकाले २० प्रतिशत अर्थात् १२ लाख रुपैयाँ थप गरी ७२ लाख रुपैयाँको योजना सञ्चालन गर्नेछ ।
उहाँका अनुसार संघ सरकारमार्फत प्राप्त बजेटबाट पूर्वाधार विकास कार्यालयले सडकको एक खण्डमा काम गर्नेछ भने गाउँपालिकाले अर्को खण्डमा स्तरोन्नतिको काम अघि बढाउनेछ । कुन निकायले कुन खण्डमा काम गर्ने भन्ने विषय दुवै पक्षबीचको समन्वयबाट टुंगो लगाइनेछ ।
सडक स्तरोन्नतिको काम सिमकोट गाउँपालिका–६ को राउतस्वाडाबाट एकातर्फ र वरगाउँबाट अर्कोतर्फ सुरु गर्ने तयारी गरिएको छ। दुवै निकायले चाँडै ठेक्का (टेन्डर) आह्वान गर्ने तयारी गरिरहेका छन् ।
सात वर्षअघि ट्र्याक खुलेपछि हालसम्म कच्ची र साँघुरो अवस्थामै सञ्चालनमा रहेको यो सडक वर्षायाममा हिलाम्मे तथा खाल्डाखुल्डीका कारण यात्रु र स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। स्तरोन्नतिपछि सडक फराकिलो, सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय छिरिङ लामाले बजेट सुनिश्चित हुनु सकारात्मक भएको बताउँदै अब ढिलाइ नगरी निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उहाँले सडक स्तरोन्नति भएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै सेवा प्रवाह र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।