तीन दिनको अवरोधपछि कर्णाली करिडोरमा यातायात सुचारु
२०८३ जेठ ३०, शनिबार
बाजुरा । बाजुरा जिल्लामा तीन दिनदेखि अवरुद्ध कर्णाली करिडोर पुनः सञ्चालनमा आएको छ। बाजुरा र हुम्लाबीच उत्पन्न विवादका कारण बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध गरिएको सडक शनिबार बिहानदेखि सुचारु गरिएको हो।
शनिबार बिहान धुलाचौरमा जनप्रतिनिधि, प्रशासन तथा सरोकारवाला पक्षको उपस्थितिमा बसेको रानीसैन पीडित संघर्ष समितिको बैठकले सडक अवरोधका कारण हुम्लाका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै करिडोर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
समितिले तीन दिनसम्म यात्रुले भोग्नुपरेको कठिनाइ तथा मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै सडक अवरोधको कार्यक्रम स्थगित गरिएको जनाएको छ। साथै, सरकारसमक्ष प्रस्तुत गरिएका मागहरूको सम्बोधन नभए आगामी असार २ गतेदेखि पुनः कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरिने चेतावनी पनि दिएको छ।
यसअघि जेठ ३ र ५ गते बाजुराको लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादका क्रममा हुम्लाका केही व्यक्तिले कुटपिट, दुव्र्यवहार गरेको आरोप लगाउँदै स्थानीयवासीले धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गरेका थिए।
लाम्पाटामा बाजुराका स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी तथा हुम्लाका बासिन्दाबीच प्रहरी चौकी भवन निर्माण र सीमा निर्धारणको विषयमा विवाद भएको थियो। त्यस्तै, जेठ २३ गते हुम्ला क्षेत्रका केही व्यक्तिले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी र दुव्र्यवहार गरेको स्थानीयको आरोप छ।
पीडित पक्षले लाम्पाटामा भएको आक्रमणको घटनाको एक महिना बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राख्दै उनीहरूले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।