सीमा विवादबारे आन्दोलन घोषणा, मंगलबारमा हुम्लाका सरकारी कार्यालय बन्द
असार १, २०८३
सिमकोट । हुम्लाको कवाडी, लाम्पाटा र रानीखर्क संरक्षण अभियानले हुम्ला–बाजुरा सीमा विवादको विषयलाई लिएर तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। विवाद समाधानका लागि ठोस पहल नगरी एकतर्फी रूपमा लाम्पाटामा संयुक्त सुरक्षा बेसक्याम्प स्थापना गरिएको भन्दै अभियानले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभियानका संयोजक प्रकाशबहादुर शाहीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म सञ्चालन हुने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
घोषित कार्यक्रमअनुसार जेठ ३१ गते जिल्ला प्रशासन कार्यालयले आयोजना गर्ने सीमा विवादसम्बन्धी सर्वदलीय तथा सर्वपक्षीय बैठक बहिष्कार गरिनेछ। यस्तै, असार १ गते विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरिनेछ भने असार २ गते हुम्लास्थित सम्पूर्ण सरकारी कार्यालय बन्द गरिनुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ।
अभियानका अनुसार तीन दिनभित्र समस्या समाधानका लागि ठोस पहल नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।
अभियानले सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेको छ। मागहरूमा लाम्पाटामा सहमतिविना स्थापना गरिएको संयुक्त सुरक्षा बेसक्याम्पलाई नेपाल सरकारद्वारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म बाजुराको गुम्बा क्षेत्रमा सार्नुपर्ने, कर्णाली करिडोर पटक–पटक अवरुद्ध गर्ने गतिविधि अन्त्य गरिनुपर्ने तथा अभद्र व्यवहार र वन तस्करी मुद्दामा संलग्न बाजुरेली अभियुक्तलाई तत्काल पक्राउ गरी निर्दोष हुम्लीमाथि लगाइएका मुद्दा खारेज गरिनुपर्ने उल्लेख छ।
त्यसैगरी, प्रमाण र तथ्यभन्दा बाहिर गएर सिर्जना गरिएको सीमा विवादको दीर्घकालीन समाधानका लागि सीमा अध्ययन समितिले शीघ्र काम प्रारम्भ गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत अभियानले गरेको छ।
पत्रकार भेटघाट कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, नेपाली कांग्रेस हुम्लाका उपसभापति बसन्त रोकाया तथा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीलगायतको सहभागिता रहेको थियो।