बाटोमै सुरक्षित सुत्केरी गराउँदै अनमीले बचाइन् दुई जीवन
२०८३ साउन ११, सोमबार
बाजुरा। बाजुराको गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढालाई सुत्केरी व्यथा लागेपछि परिवारका सदस्यले नजिकको नक्राडा आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजान थाले। तर वर्षायाम, हिलाम्मे बाटो र दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य केन्द्र पुग्न अझै करिब ४० मिनेटको यात्रा बाँकी थियो।
घरबाट हिँडेको करिब आधा घण्टामै कमलाको प्रसव व्यथा अत्यधिक बढ्यो। बच्चाको टाउको निस्किसकेको अवस्थामा उनलाई थप बोकेर स्वास्थ्य संस्थासम्म पु¥याउन सम्भव भएन। बाध्य भएर आफन्तले उनलाई बाटोमै स्टेचरमा राखे र स्वास्थ्यकर्मी बोलाउन दौडिए।
बिहान ५ः२० बजे घटनाको जानकारी पाउनेबित्तिकै नक्राडा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हिमा नेपाली आवश्यक प्रसूति सामग्रीसहित घटनास्थलतर्फ दौडिनुभयो। उहाँ पुग्दा सुत्केरी आमा स्टेचरमै थिइन् र बच्चाको टाउको बाहिर निस्किसकेको अवस्था थियो। अत्यन्त जोखिमपूर्ण परिस्थितिका बीच उहाँले बाटोमै सुरक्षित प्रसूति गराउँदै आमा र नवजात शिशु दुवैको ज्यान जोगाउन सफल हुनुभयो।
अनमी नेपाली भन्नुहुन्छ, “वर्षायाममा दुर्गम बस्तीका गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न निकै कठिन हुन्छ। त्यसैले आवश्यक परे म आफैं घर–घर पुगेर स्वास्थ्य सेवा दिने गर्छु।“

उहाँको सेवा प्रसूति गराएर मात्र सीमित छैन। अहिले पनि उहाँ नियमित रूपमा घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गर्दै आउनुभएको छ। उहाँको समर्पणले स्वास्थ्य सेवा केवल पेशा नभई मानव जीवनप्रतिको उत्तरदायित्व र सेवाभाव भएको सन्देश दिन्छ।
तर यो घटना केवल एउटा सफल उद्धारको कथा मात्र होइन। यसले बाजुरालगायतका दुर्गम जिल्लामा सुरक्षित मातृत्व सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको यथार्थ उजागर गरेको छ। आज पनि धेरै गर्भवती महिलाहरू समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमै बच्चा जन्माउन बाध्य हुने अवस्था कायमै छ।
दुर्गम क्षेत्रमा सडक, यातायात र स्वास्थ्य पूर्वाधारको अभावले गर्भवती महिला र नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको छ। सुरक्षित मातृत्व सुनिश्चित गर्न स्वास्थ्य संस्था, आपत्कालीन यातायात, दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरणको पहुँच गाउँस्तरसम्म विस्तार गर्नु अपरिहार्य देखिन्छ।
यस्ता कठिन परिस्थितिमा आफ्नो ज्यानको समेत पर्वाह नगरी सेवामा खटिने अनमी हिमा नेपालीजस्ता स्वास्थ्यकर्मीहरू दुर्गम बस्तीका वास्तविक नायक हुन्। उहाँहरूको समर्पणले धेरै परिवारमा नयाँ जीवनको आशा जगाएको छ।
बाजुराका दुर्गम गाउँका यस्ता घटनाले राज्यलाई आधारभूत स्वास्थ्य सेवा नागरिकको घरदैलोसम्म पु¥याउने दायित्व अझ प्रभावकारी रूपमा पूरा गर्नुपर्ने आवश्यकता पुनः स्मरण गराएका छन्। सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न पूर्वाधार, जनशक्ति र पहुँचमा लगानी बढाउनु आजको प्रमुख आवश्यकता बनेको छ।