साउने पूर्णिमाको अवसरमा सिमकोट बजारमा सरसफाइ अभियान सम्पन्न

फिल्को मिसन

२०८३ भदौ ६, शनिबार
हुम्ला । साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजारमा शनिबार वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ। सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानमा सरकारी कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।


बिहान ७ः३० बजेदेखि सुरु भएको अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रलाई तीन भागमा विभाजन गरी सरसफाइ गरिएको थियो। तीनधारा चोक क्षेत्रमा गाउँपालिका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा नेपाली सेना, स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी, महिला समूह तथा युवा क्लबका प्रतिनिधिहरू सहभागी भएका थिए।


त्यसैगरी, बजारको मध्यभागमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, नेपाल सशस्त्र प्रहरी बल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीले सरसफाइ अभियान सञ्चालन गरेका थिए। काठेचुली चोक क्षेत्रमा गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाको नेतृत्वमा नेपाल प्रहरी, जनप्रतिनिधि, महिला समूह, युवा क्लब, समाजसेवी तथा स्थानीयवासी सक्रिय रूपमा सहभागी भएका थिए।


अभियानपछि गाउँपालिका अध्यक्ष विजय भण्डारीले सरसफाइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, कर्मचारी, वडा नं. ५ र ६ का जनप्रतिनिधि, महिला समूह, युवा क्लब तथा सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गरे। उनले सिमकोटलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “आफ्नो ठाउँ, आफ्नो बजार, आफैं सफा र सुन्दर बनाऔँ” भन्ने भावनालाई व्यवहारमा उतार्न आग्रह गरे।


प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय समुदाय, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिताले अभियान सफल भएको बताउँदै सरसफाइलाई केवल चाडपर्वमा सीमित नराखी नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।


गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाले बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीयवासी, व्यवसायी तथा विभिन्न संघसंस्थाको उत्साहजनक सहभागिताले अपेक्षाभन्दा राम्रो परिणाम दिएको बताउँदै सबै सहभागीप्रति धन्यवाद व्यक्त गरिन्।


कार्यक्रमका सहभागीहरूले सिमकोट बजारलाई दीर्घकालीन रूपमा स्वच्छ, व्यवस्थित र दुर्गन्धरहित बनाउन विभिन्न स्थानमा पर्याप्त डस्टबिनको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै बजार क्षेत्रलाई थप व्यवस्थित बनाउन सरसफाइ सामग्री, आर्थिक तथा नैतिक सहयोग प्रदान गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरिएको थियो।


यसैबीच, बजारका केही व्यवसायबाट सडक किनारामा सामान अव्यवस्थित रूपमा राख्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको सहभागीहरूले सुझाव दिएका छन्। बजार व्यवस्थापन समितिले समेत आवश्यक व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानलाई सफल बनाउन सामाजिक संघसंस्था, सञ्चारमाध्यम र आम नागरिकको निरन्तर सहयोग आवश्यक रहने जनाएको छ।


स्थानीयवासीको सक्रिय सहभागिता र सामूहिक प्रयासमा सम्पन्न भएको यो अभियानले सिमकोट बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस