सिमकोटमा स्वास्थ्य क्षेत्रको प्रगति र चुनौतीबारे समीक्षा  सुरु

फिल्को मिसन

२०८३ भदौ ८, मंगलबार
हुम्ला। सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगति तथा उपलब्धिको समीक्षा गर्न मंगलबारदेखि हेडल्यान्ड रूफटप क्याफेमा समीक्षा गोष्ठी सुरु भएको छ।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे समीक्षा गरिनुका साथै चालु आर्थिक वर्षका कार्यक्रमहरूको कार्यान्वयन र तथ्यमा आधारित योजना तर्जुमाबारे छलफल भइरहेको छ।
गोष्ठीमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता रहेको छ। कार्यक्रममा उपाध्यक्ष सुशीला भाम रोकाया, स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, पत्रकार तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीका अनुसार स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने, कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी सुधारका लागि आवश्यक योजना तथा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।
उहाँका अनुसार बुधबारसम्म सञ्चालन हुने गोष्ठीमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रका प्राथमिकता निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा तथा चालु आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ।
गोष्ठीमा स्थानीय तहको अधिकारभित्र रहेका स्वास्थ्य कार्यक्रम, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु स्याहार, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम तथा एकीकृत बालरोग व्यवस्थापनलगायत महत्वपूर्ण विषयमा समेत विस्तृत छलफल हुने जनाइएको छ

प्रतिक्रिया दिनुहोस