विश्व स्तनपान दिवसमा स्याडा स्वास्थ्य चौकीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

यज्ञ शाही

२०८३ साउन २१, बिहीबार
सिमकोट । विश्व स्तनपान दिवसको अवसरमा हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित स्याडा स्वास्थ्य चौकीमा स्तनपान प्रवर्द्धन तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

स्तनपानको महत्व, शिशुको समुचित वृद्धि–विकासमा आमाको दूधको अपरिहार्यता तथा मातृ स्वास्थ्यमा स्तनपानले पुर्‍याउने सकारात्मक प्रभावबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य चौकीले जनाएको छ।

कार्यक्रममा स्थानीय आमा, बालबालिका, समुदायका सदस्य, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई जन्मेदेखि नै शिशुलाई नियमित र पूर्ण स्तनपान गराउँदा हुने स्वास्थ्य लाभ, शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा आमाको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहभागी आमामध्ये उत्कृष्ट तीन जनालाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुने आमालाई घ्यू, द्वितीय हुने आमालाई औषधीय साबुन र तृतीय हुने आमालाई लुगा धुने साबुन वितरण गरिएको आयोजकले जनाएको छ। यस्ता प्रोत्साहनमूलक कार्यक्रमले आमाहरूलाई नियमित तथा पूर्ण स्तनपान गराउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

स्याडा स्वास्थ्य चौकीका निमित्त प्रमुख तथा इन्चार्ज राजेन्द्र शाहीले विश्व स्तनपान दिवसको सन्देश प्रत्येक घरपरिवारसम्म पुर्‍याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले मातृ तथा शिशु स्वास्थ्य सुधार, स्तनपान प्रवर्द्धन र समुदायको समग्र स्वास्थ्य विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने तथा त्यसका लागि सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, स्थानीय समुदाय, सहभागी आमा तथा सहयोगी व्यक्तित्वप्रति स्याडा स्वास्थ्य चौकी परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। स्वास्थ्य चौकीका अनुसार कार्यक्रमको योजना, व्यवस्थापन, प्रचारप्रसार, सामग्री तथा पुरस्कार व्यवस्थापनलगायत सबै पक्षको सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस