पिप्लाङ्ग गाउँमा ‘महिनावारी स्वास्थ्यका लागि पहल’ झोला वितरण

फिल्को मिसन

जापानमा रहेका गणेशबहादुर शाहीको पहलमा परियोजना लालीगुराँसमार्फत स्थानीय महिलालाई स्वास्थ्य सामग्री वितरण

२०८३ साउन २३ शनिबार
हुम्ला । चंखेली गाउँपालिका–४, पिप्लाङ्ग गाउँमा महिनावारी स्वास्थ्यसम्बन्धी सामग्रीसहितका झोला वितरण गरिएको छ।
२०८३ साल साउन २३ गते चंखेली गाउँपालिका–४ निवासी तथा हाल जापानमा बस्दै आउनुभएका गणेशबहादुर शाहीको पहलमा परियोजना लालीगुराँस संस्थामार्फत ‘महिनावारी स्वास्थ्यका लागि पहल’ नामक झोला पिप्लाङ्ग गाउँका महिला, आमा तथा दिदीबहिनीहरूलाई वितरण गरिएको हो।


महिनावारीका समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रूपमा उपलब्ध गराउने तथा महिनावारी स्वास्थ्य र सरसफाइका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त झोला वितरण गरिएको बताइएको छ।


आफ्नो गाउँका महिला तथा किशोरीहरूको स्वास्थ्य र सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले जापानमा रहनुभएका गणेशबहादुर शाहीले पहल गरी परियोजना लालीगुराँस संस्थामार्फत सेवा उपलब्ध गराउनुभएकोमा स्थानीयवासीले उहाँप्रति आभार व्यक्त गरेका छन्।


झोला वितरण कार्यक्रमलाई सफल बनाउन औलादेवी शाही, धीरबहादुर शाही र संगिता शाहीले प्रस्तोता तथा सहयोगीका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो।
स्थानीय महिला तथा दिदीबहिनीहरूको स्वास्थ्य र सम्मानसँग प्रत्यक्ष जोडिएको यस्तो सामाजिक तथा मानवीय कार्यले महिनावारीसम्बन्धी स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यस सहयोग तथा सेवाका लागि गणेशबहादुर शाही र परियोजना लालीगुराँस संस्थाप्रति पिप्लाङ्ग गाउँवासीले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस