चुनावमा एआई र सामाजिक सञ्जाल प्रयोगस् आयोगले तोकेका नियम
स २८, २०८२, सोमबार
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा आचारसंहिता लागू गरेको छ। आयोगका अनुसार निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा नक्कली (फेक) एकाउण्ट सञ्चालन गर्न, झुटा साइट खोल्न वा त्यस्ता गतिविधि गर्न–गराउन निषेध गरिएको छ।
आयोगले सामाजिक सञ्जाल प्रयोग गर्दा सबैले पालना गर्नुपर्ने आचरणहरू पनि तोकेको छ। जसअनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले कसैलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने, अपमानजनक वा द्वेषपूर्ण भाषण (हेटस्पिच) गर्ने तथा त्यस्ता सामग्री उत्पादन वा प्रचार–प्रसार गर्न पाइने छैन।
त्यस्तै, सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन पनि निषेध गरिएको छ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने वा अवरोध सिर्जना गर्ने उद्देश्यले कुनै विचार व्यक्त गर्न, प्रचार सामग्री उत्पादन गर्न, पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्ने कार्य गर्न नपाइने व्यवस्था गरिएको छ।
आयोगले स्पष्ट पारेको छ, ‘कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भइसकेको सूचना वा सामग्रीलाई एआई प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न वा गराउन हुँदैन।’