हुम्लामा पहिलोपटक बायोमेडिकल ल्याब सञ्चालनमा

फिल्को मिसन

मंसिर २४,२०८२
सिमकोट । हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक बायोमेडिकल ल्याब स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाको पहलमा स्थापन गरिएको यस ल्याबमार्फत अब जिल्लाभर प्रयोग हुने स्वास्थ्य उपकरणहरूको मर्मत–सम्भार स्थानीयस्तरमै हुने भएको छ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार उपकरणहरूको समयमै मर्मतमा देखिएको चुनौतीका कारण बायोमेडिकल ल्याब अत्यावश्यक बनेको थियो। करिब दुई वर्षदेखि गरिएको प्रयास सफल बन्दै ल्याब सञ्चालनमा आएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अस्पताल परिसरमा पूर्वाधारसहित निर्माण गरिएको ल्याबमा करिब १२० प्रकारका मर्मत उपकरण राखिएका छन्। यसले उपकरण बिग्रँदा बाहिरी जिल्लामा पठाउने झन्झट हट्ने तथा समय र खर्च दुवै बचत हुने अस्पतालले जनाएको छ।
‘नेक साईमन इन्स्टिच्युट’ को सहयोगमा स्थापन गरिएको यो ल्याब नेपालका ६५ जिल्लामा स्थापना गरिएका यस्तै ल्याबहरूमध्ये हालै समावेश भएको हो। संस्थाका कर्णाली प्रदेश प्रमुख सुरज श्रेष्ठका अनुसार आगामी वर्षदेखि जनशक्ति व्यवस्थापन जिल्ला अस्पतालले गर्नेछ।
उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिका र अस्पताल विकास समिति लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस