राउटे समुदायकी ६५ वर्षीया महिलाको मृत्यु, जनसङ्ख्या १३२ मा सीमित

फिल्को मिसन

२०८३ साउन २१, बिहीबार
सुर्खेत। लोपोन्मुख राउटे समुदायकी ६५ वर्षीया फलाटो शाहीको मृत्यु भएको छ। उनको मृत्युसँगै राउटे समुदायको कुल जनसङ्ख्या घटेर १३२ पुगेको छ।
राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, फलाटो शाही लामो समयदेखि दीर्घरोगबाट पीडित थिइन् र नियमित औषधि सेवन गरिरहेकी थिइन्।
केसीका अनुसार साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन गरेका कारण उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। बिहीबार बिहान करिब २ बजे उनको मृत्यु भएको हो।
मृतक फलाटो शाही राउटे समुदायका मुखियामध्ये एक प्रकाश शाहीकी आमा हुन्। फलाटो शाहीको निधनपछि राउटे समुदायको कुल जनसङ्ख्या १३२ मा झरेको छ। गत वर्ष साउन महिनामा यो सङ्ख्या १३५ रहेको थियो।
हाल राउटे समुदाय पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा अस्थायी बसोबास गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस