हुम्लाले पायो पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाको मान्यता (फिचर)
असार २१, २०८३
हुम्ला । हिमाली जिल्ला हुम्लाले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । दुर्गम भौगोलिक अवस्था, कठिन यातायात र सीमित स्रोत–साधनका बीच पनि जिल्लाले पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाको मान्यता प्राप्त गरेको हो। यो उपलब्धिले स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको संयुक्त प्रयासलाई थप सार्थक बनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार आयोजित विशेष कार्यक्रममा आवश्यक सबै राष्ट्रिय सूचक पूरा भएको पुष्टि भएपछि हुम्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको, खोप सेवाको निरन्तरताका लागि आवश्यक जनशक्ति, व्यवस्थापन तथा अनुगमन प्रणाली प्रभावकारी रहेको पुष्टि भएपछि जिल्लाले यो मान्यता प्राप्त गरेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लामा ० देखि १५ महिनासम्मका १ हजार ३७ जना तथा १६ महिनादेखि ५९ महिनासम्मका २ हजार ३३४ जना गरी कुल ३ हजार ३७१ जना बालबालिका पूर्ण खोप सेवाबाट लाभान्वित भएका छन्।
डा. तिवारीले हुम्लाजस्तो दुर्गम जिल्लामा पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायबीचको सशक्त सहकार्यका कारण कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नपरेको उल्लेख गर्दै यही प्रतिबद्धताले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाको मान्यता दिलाएको बताउनुभयो।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पूर्ण खोप घोषणा केवल एउटा उपलब्धि मात्र नभई त्यसलाई दीर्घकालसम्म कायम राख्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो। उहाँले भविष्यमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहने बताउनुभयो।

जिल्ला खोप समन्वय समिति संयोजक शिवराज शर्माले नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै पूर्ण खोपको अवस्थालाई अझ दिगो बनाइने बताउनुभयो। उहाँका अनुसार प्रत्येक वडामा खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नै हुम्लालाई यो उपलब्धिसम्म पु¥याएको हो।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति, सातवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाको मान्यता हुम्लाको सार्वजनिक स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी, पहुँचयोग्य र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।

पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाको मान्यता प्राप्तसँगै हुम्लाले दुर्गम जिल्लामा समेत प्रभावकारी स्वास्थ्य सेवा प्रवाह सम्भव हुने सन्देश दिएको छ। अब यो उपलब्धिलाई निरन्तर कायम राख्दै आगामी पुस्तालाई खोपबाट रोकथाम गर्न सकिने रोगबाट सुरक्षित राख्नु जिल्लाका सबै सरोकारवालाको साझा जिम्मेवारी बनेको छ।