सचिनको पछि विराट, सांगाकारालाई उछिन्दै दोस्रो स्थानमा
पुस २८, २०८२, सोमबार
काठमाडौं । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले न्युजिल्यान्डविरुद्ध वानडे सिरिज अन्तर्गत पहिलो खेलमा ९३ रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
यससँगै कोहलीले श्रीलंकाका महान ब्याट्सम्यान कुमार सांगाकारालाई उछिन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थान हासिल गरेका छन्।
हाल सर्वाधिक रन बनाउने सूचीमा भारतकै सचिन तेन्दुलकर शीर्ष स्थानमा छन्। सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ३४,३५७ रन बनाएका छन्। विराट कोहलीले २८,०१७ रन पुर्याउँदा सांगाकाराको नाममा २८,०१६ रन रहेको छ।
कोहलीले मात्र ६२४ इनिङ्समा २८ हजार रन पूरा गर्दै विश्वकै सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडीसमेत बनेका छन्। यसअघि सचिनले ६४४ र सांगाकाराले ६६६ इनिङ्समा २८ हजार रन पूरा गरेका थिए।
अब कोहलीले सचिनको कीर्तिमान तोड्न ६ हजारभन्दा बढी रन थप्नुपर्नेछ। कोहली, सचिन र सांगाकाराले बनाएको यो रन संख्या टेस्ट, वानडे र टी–२० तीनै फर्म्याटको संयुक्त स्कोर हो।