रिप गाउँमा आगलागीः दुई घाइते, तीन घरमा क्षति
पुस ११, २०८२ शुक्रबार
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ अन्तर्गत रिप गाउँमा भएको आगलागीमा परी दुई जना घाइते भएका छन् भने तीन घरमा क्षति पुगेको छ ।
स्थानीय विजय फडेराका अनुसार बिहीबार राति करिब ११ बजे स्थानीय लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परी स्थानीय लैबा फडेरा र बम्बु फडेरा घाइते भएका छन् । आगोका कारण दुवै जनाको शरीरमा गम्भीर जलन भएको बताइएको छ ।
घाइते दुवै जनालाई थप उपचारका लागि रातिनै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीहरूको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घर जलेर क्षति भएको छ भने रमेश महतारा र मोहन महताराका घरमा रहेका सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण भने हालसम्म प्राप्त नभएको स्थानीयले बताएका छन्। “रातिको समयमा आगलागी भएकाले आगो नियन्त्रणमा लिन निकै समय लाग्यो,” आगलागी नियन्त्रणमा खटिएका विजय फडेराले बताए।
रिप गाउँ तथा छिमेकी उनापानी गाउँका स्थानीयको सहयोगमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर विष्णु श्रेष्ठका अनुसार प्रहरी टोली क्षतिको यकिन विवरण संकलनको तयारीमा जुटेको छ । “घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याएर उपचार भइरहेको छ,” उनले बताए।
घटनास्थलमा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देविका तिमिल्सिना लगायतको टोली उद्धार तथा राहत सामग्रीसहित पुगेको उपाध्यक्ष तिमिल्सिनाले जानकारी दिइन् । आगलागी भएका घरका घरधनी घरमा नभएको र घर निर्माणका लागि राखिएका सामग्री समेत जलेर नष्ट भएको उनले बताइन् ।
आगलागीबाट प्रभावित परिवारलाई खाद्यान्न, राहत सामग्री तथा नगद सहयोग गरी पुनः घर निर्माणमा सहयोग गरिने उपाध्यक्ष तिमिल्सिनाले बताइन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण प्रहरीको मुचुल्कापछि आउने जनाइएको छ ।