नेपाली कम्युनिस्ट पार्टीले पुस १८ गते हुम्लामा एकता सन्देश सभा गर्ने

फिल्को मिसन

पुस १, २०८२
हुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पुस १८ गते हुम्लामा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको छ । सुर्खेतमा सम्पन्न पार्टीको जिल्ला स्तरीय बैठकले उक्त निर्णय गर्दै कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
पार्टीका अनुसार पुस १८ गते जिल्ला सदरमुकाम सिमकोटमा आयोजना हुने एकता सन्देश सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकपछि फिल्को मिशन डटकम अनलाईन पत्रिकामा सम्पादक अर्जुन बोहरा लाई पार्टीका  तत्कालिन माओवादी केन्द्र हुम्ला जिल्ला संयोजक डा दिपेन्द्र रोकायाले एकता सन्देश सभामार्फत पार्टीले हालसम्म गरेका निर्णय,संगठन सुदृढीकरण तथा भावी कार्यदिशाबारे जानकारी गराइने बताउनुभयो।
सुर्खेत जिल्लामा उपस्थित नेताहरुको डा रोकायाको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी एकता प्रक्रिया अघि बढेसँगै हुम्ला जिल्लामा विभिन्न चरणमा गरिएका गतिविधिको समीक्षा गरेको छ । यसअघि मंसिर ६ गते काठमाडौं, मंसिर २५ गते नेपालगञ्ज र मंसिर २६ गते सुर्खेतमा जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका थिए। मंसिर २७ गते हुम्लामा सम्पन्न विशेष सन्देश सभामा जिल्लावासीको उल्लेख्य सहभागिता रहेको बैठकले जनाएको छ ।
बैठकले पालिकास्तरीय पार्टी एकता सन्देश सभा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। तय तालिकाअनुसार पुस ७ गतेदेखि विभिन्न गाउँपालिकामा एकता सन्देश सभा गरिनेछ । पुस ७ गते चंखेली गाउँपालिका, पुस ९ गते अदानचुली गाउँपालिका, पुस ११ गते सर्केगाड गाउँपालिका, पुस १३ गते नाम्खा गाउँपालिका, पुस १५ गते सिमकोट गाउँपालिका, पुस १६ गते ताँजाकोट गाउँपालिकामा कार्यक्रम आयोजना हुने जनाइएको छ । पुस १८ गते सिमकोटमै जिल्ला स्तरीय एकता सन्देश सभा आयोजना गरिनेछ ।
त्यसैगरी बैठकले संगठन सुदृढीकरणका लागि जिल्ला बैठकको मिति तोक्ने, पार्टी एकता सन्देश सभाको व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक निर्देशनअनुसार कार्यान्वयन अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस