अध्यक्ष पदबाट राजीनामाको स्पष्टीकरण सहित माननीय परियारको विज्ञप्ति सार्वजनिक

फिल्को मिसन

मंसिर २३, २०८२
हुम्ला । अदानचुली गाउँपालिका–१ स्थित श्री जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खेमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा उत्पन्न परिस्थितिबारे कर्णाली प्रदेशका माननीय रनसिंह परियारले स्पष्टीकरणसहित विज्ञप्ति सार्वजनिक गरेका छन् ।
मंसिर २१ गते बसेको सर्वपक्षीय बैठकले परियारलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । सो निर्णयप्रति धन्यवाद ज्ञापन गर्दै उनले अभिभावक तथा स्थानीय समुदायले दिएको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।
परियारले विद्यालयको समग्र शैक्षिक विकासका लागि सबै पक्ष एकजुट भएर उत्तरदायी भूमिकामा उभिनुपर्ने उल्लेख गर्दै विद्यालयको हित र समुदायको अपेक्षा नै आफूका लागि सर्वोपरि रहने बताएका छन् । अध्यक्ष पद प्राप्ति व्यक्तिगत इच्छा वा महत्वाकांक्षा होइन, जिम्मेवारी र समुदायको भरोसासँग जोडिएको विषय भएको उनको भनाइ छ ।
तर दीर्घकालीन कार्यव्यस्तता र समयसम्बन्धी सीमितताका कारण समितिलाई आवश्यक निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेपछि मंसिर २२ गते बसेको भर्चुअल बैठकमार्फत आफू पदमा बसिरहन नसक्ने निर्णय आधिकारिक रूपमा समितिमा पेश गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै उनले केही सञ्चारमाध्यममा आफ्नो नाममा भ्रामक र आधारहीन जानकारी प्रसारण भइरहेको भन्दै खेद व्यक्त गरेका छन् । आफू अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा नरहेको स्पष्ट पार्दै, तथ्यसमेतमा आधारित जानकारी सार्वजनिक गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस