हुम्लाको अदानचुली : गल्फागाड–श्रीनगर सडक कालोपत्रे सुरु

फिल्को मिसन

मंसिर २१, २०८२

हुम्ला – अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम सुरु भएको छ। सडकको ट्रयाक खोलीएको करिब १० वर्षपछि यो स्तरोन्नती कार्य थालिएको हो।

गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडक स्तरोन्नती र कालोपत्रे कार्य सुरु भएपछि अहिले निरन्तर रूपमा काम भइरहेको छ। कर्णाली करिडोर अन्तर्गत पर्ने उक्त सडकको जिरो पोइन्ट गल्फागाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन नजिकको मोडसम्म करिब ९ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गरिनेछ।

हाल गल्फागाडदेखि सडक चौडा बनाउने, ग्याबिन लगाउने र नाला खन्ने काम स्काभेटर र कामदारद्वारा धमाधम भइरहेको छ। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई करिब ९.९ किलोमिटर रहेको छ। सडकको चौडाई ८ मिटर भए पनि कालोपत्रेको भाग ३.७५ मिटर हुनेछ।

करिब ६ महिनाअघि गाउँपालिकाले टेन्डर आह्वान गरी ओएसिस इञ्जिनियरिङ एण्ड बिल्डर प्रालि छनोट गरेको थियो। बिदेशी लगानी भएकाले प्रक्रियामा केही समय लागेको र सम्झौता भएको करिब ६ महिनापछि मात्र निर्माण कार्य सुरु भएको हो।

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार अब सडक निर्माणमा गति आउनेछ। उनले भने, “काममा केही ढिलाइ देखिएपछि दुई सिफ्टमा सडक स्तरोन्नतीको कार्य अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुराकानी भैरहेको छ।”

प्रतिक्रिया दिनुहोस