कर्णाली माओवादी संसदीय दलमा नेतृत्व रिक्त, राजकुमार शर्माले दिए राजीनामा

फिल्को मिसन

मंसिर १८, २०८२, बुधबार
सुर्खेत ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा उनले लेखेका छन्, “म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”
पूर्व मुख्यमन्त्री शर्माले तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलहरूको एकतापछि बनेको नयाँ नेकपामा समर्थन जनाउँदै संसदीय दलको नेताबाट हट्ने निर्णय गरेका हुन् ।
शर्माले राजीनामा दिएसँगै कर्णाली माओवादी केन्द्रको संसदीय दलमा नयाँ नेताको चयनबारे राजनीतिक छलफल सुरु भएको छ। स्रोतका अनुसार बैठक चलिरहेको छ र आकांक्षीहरूको संख्या उल्लेख्य छ ।
संसदीय दलको नयाँ नेताका लागि पूर्व कानुन मन्त्री कृष्ण जिसी, पूर्व अर्थमन्त्री महेन्द्र केसी, पूर्व सामाजिक विकास मन्त्री वीरबहादुर शाही र पूर्व अर्थमन्त्री बिन्दमान विष्टले दाबी प्रस्तुत गरेका छन् । विशेष गरी, दुईपटक मन्त्री बनेका तथा दुईपटक प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित सांसद कृष्ण जिसी र वीरबहादुर शाहीले आफूहरू संसदीय दलको नेतृत्व गर्न योग्य रहेको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस