कर्णालीमा थपिए २६ हजार नयाँ मतदाता, युवा सक्रियतामा उत्साहजनक वृद्धि
मंसिर १८, २०८२
सुर्खेत । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै कर्णाली प्रदेशमा २६ हजार ६ सय ३५ जना नयाँ मतदाता सूचीकृत भएका छन् ।मंसिर ५ गते समाप्त भएको दर्ता तथा अद्यावधिक अवधिपछि प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले १० जिल्लाबाट संकलित नयाँ विवरण सार्वजनिक गरेको हो ।
यससँगै कर्णाली प्रदेशमा कुल मतदाताको संख्या करिब १० लाख ३३ हजार पुगेको छ । राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गर्न मिल्ने व्यवस्थाले नयाँ मतदाता दर्तामा उल्लेख्य वृद्धि भएको चुनाव अधिकृतहरूको भनाइ छ ।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुबाका अनुसार १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा ७ हजार ३६२ नयाँ मतदाता दर्ता भएका छन्। यसअघि सुर्खेतमा २ लाख ४४ हजार ६७६ मतदाता थिए ।
कर्णालीका जिल्लामा दर्ता भएका नयाँ मतदाताः
जुम्लाः ३,०३६ (पुराना ६७,७४४)
दैलेखः ३,६२६ (पुराना १,५९,८६५)
सल्यानः ३,१८०
रुकुम पश्चिमः २,८४० (पुराना १,०४,२३८)
जाजरकोटः २,२१०
कालिकोटः १,७७६ (पुराना ७२,०८०)
डोल्पाः १,००७ (पुराना २२,९८५)
हुम्लाः ८२४ (पुराना ३३,३०८)
मुगुः ७७४ (पुराना ३८,०९१)
जुम्लामा मतदाता संख्या बढेसँगै दुई नयाँ मतदान केन्द्र थप्ने र एक स्थानान्तरण गर्ने सिफारिस केन्द्रीय निर्वाचन आयोगमा पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । हिमा–१ र पातारासी–७ मा केन्द्र थप्ने र तिला–९ को केन्द्र अन्यत्र सार्ने प्रस्ताव गरिएको हो। हाल जुम्लामा ८३ मतदान स्थल र १०८ मतदान केन्द्र (२ अस्थायी) छन् ।
यसपटक दर्ता भएका नयाँ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी १७–२५ वर्षका युवा रहेका छन् । जेन–जी आन्दोलनपछिको राजनीतिक सक्रियता र पछिल्ला घटनाक्रमले युवालाई मतदानतर्फ आकर्षित गरेको विश्लेषण गरिएको छ । विगतमा निर्वाचनप्रति न्यून चासो देखाउने युवाहरू पनि यसपटक राजनीतिक बहस र प्रचारप्रसारमा सक्रिय हुन थालेको स्थानीय तहहरूले बताएका छन् ।
निर्वाचन आयोगले १० असोजदेखि ५ मंसिरसम्म नाम दर्ता तथा अद्यावधिक अवधि तय गरेको थियो। नेपाली नागरिकता प्राप्त गरी २० फागुन २०८२ सम्म १८ वर्ष पुग्ने सबैलाई नाम दर्ता गर्न आह्वान गरिएको थियो । कर्णालीमा नयाँ मतदाताको उल्लेख्य वृद्धि, विशेषगरी युवाको सक्रिय सहभागिता, आगामी निर्वाचनको महत्वपूर्ण संकेतकका रूपमा हेरिएको छ ।